नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जितेका छन्।
टेक्सास राज्यस्थित फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोषले काता विधातर्फ कांस्य पदक जितेका हुन्।
यस प्रतियोगितामा सन्तोषले रिपेचाजमार्फत् पदक सुरक्षित गरे। रिपेचाजमा अमेरिकाका कारास्क्वेललाई हराउँदै सन्तोषले नेपाललाई पदक दिलाए। त्यसअघि पहिलो खेलमा अमेरिकाकै भियारो पिएरपाओलोलाई हराएर सन्तोषले विजयी यात्रा सुरु थिए।
उनले दोस्रो खेलमा पनि अमेरिकाकै कोम्पस जोनीलाई पराजित गरे। तेस्रो खेलमा भने सन्तोष ओसाको हिसाओसँग पराजित हुन पुगे। यससँगै उनको फाइनल खेल्ने सपना पूरा हुन सकेन। तर, रिपेचाजबाट उनी पदक जित्न सफल भए।
सन्तोषले फाइटमा पनि प्रतिस्पर्धा गरेका थिए। फाइटतर्फ उनले पाँच बाउट जिते पनि पदकका लागि पर्याप्त भएन। यस विधामा पनि रिपेचाजबाट पदकका लागि भएको भिडन्तमा सार्दी मार्सेलोसँग अन्तिम समय समालिन नसक्दा सन्तोष अर्को पदकबाट चुकेका हुन्।
फाइटमा सन्तोषले पहिलो खेलमा अमेरिकाका नाथानियल जुनियरलाई ७–० ले पराजित गरेका थिए। त्यसपछि उनले अमेरिकाका सोर्बी ओरिया र कारास्क्वेललाई हराउँदै अगाडि बढे।
चौथो खेलमा भने सन्तोषले घरेलु टोलीका कुचुकसँग पराजित भएपछि फाइनलमा पुग्न योजना पूरा भएन। उनका प्रशिक्षक सुनिल लामाले आफ्ना खेलाडीले सन्तोष जनक प्रदर्शन गरेको र अन्तिम समयमा समालिन नसक्दा अर्को पदकबाट चुकेको बताए।
प्रकाशित: २२ चैत्र २०८२ २१:४० आइतबार





