४ असार २०८३ बिहीबार
image/svg+xml
खेल

शल्यक्रियापछिको रिह्याबका लागि कतार पुगिन् ‘साम्बा’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ शल्यक्रियापछिको रिह्याबका लागि कतार पुगेकी छन्।

कतारको विश्वप्रसिद्ध स्पोर्टस् मेडिसिन अस्पताल ‘अस्पेटार’ मा उनले केही महिना रहेर स्वास्थ्योपचारलाई निरन्तरता दिनेछिन्।

सावित्राले सोमबार सामाजिक सञ्जालमार्फत आफू कतार पुगेको जानकारी दिँदै शल्यक्रियापछिको रिकभरी सोचेजस्तै भइरहेको बताएकी छन्।

लामो समयको प्रयासपछि उनी रिह्याबका लागि अस्पेटार पुग्न सफल भएकी हुन्।

‘अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु,’ उनले लेखेकी छन्, ‘यस कठिन समयमा साथ दिनुहुने समर्थक, क्लब र सम्पूर्ण सहयोगीहरूप्रति सधैँ आभारी छु।’

मैदान फर्कने लक्ष्यमा अडिग रहेकी सावित्राले नेपालमा फुटबलको पछिल्लो अवस्थाप्रति भने निराशा व्यक्त गरेकी छन्।

‘एकातर्फ आफू मैदान फर्कने प्रयासमा छु, अर्कोतर्फ नेपालमा फुटबलको अवस्था देखेर निराश छु,’ उनले भनेकी छन्।

उनले नेपाली फुटबलको अवस्था चाँडै सुधार हुने आशा समेत व्यक्त गरेकी छन्।

अस्पेटार विश्वका चर्चित खेलाडीहरूले उपचार र रिह्याब गर्ने अस्पतालका रूपमा चिनिन्छ। कप्तान सावित्रा त्यहाँ केही महिनाको रिह्याब पूरा गरेपछि पुनः व्यावसायिक फुटबलमा फर्कने तयारीमा छन्।

प्रकाशित: २१ वैशाख २०८३ २०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App