१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

साम केरले दिलाइन् अस्ट्रेलियालाई सफलता

एएफसी महिला एसियन कपको उद्घाटन खेलमा अस्ट्रेलियाकी स्टार खेलाडी साम केरले पुनः उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो देशलाई राम्रो सुरुआत दिलाएकी छन्।

घरेलु मैदानमा आयोजना भएको प्रतियोगितामा उनको प्रेरणामा अस्ट्रेलियाले आइतबार फिलिपिन्समाथि १–० को जित निकालेको हो। फरवार्ड केरले खेलको १४औं मिनेटमा बक्सको किनारबाट हेडमार्फत गोल गरिन्। दायाँतर्फबाट क्लेरे ह्विलरले दिएको क्रसलाई क्याटलिन फोर्डले हेड गरेर गोलपोस्टतर्फ फर्काइन् र केरले त्यसलाई जाली चुमाइन्। ३२ वर्षीया केरको अस्ट्रेलियाका लागि यो ७०औं अन्तर्राष्ट्रिय गोल हो। लामो समयको घुँडाको चोटपछि उनी पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएकी हुन्।

उक्त चोटका कारण उनले सन् २०२३ को महिला विश्वकपपछि माटिल्डासका लागि खेल्न सकेकी थिइनन्। ४४,३७९ दर्शक उपस्थित भएको यो खेल प्रतियोगिताकै कीर्तिमानी उपस्थिति थियो। पर्थमै हुर्किएकी केरका लागि यो उपस्थिति विशेष सम्मानजस्तै बन्यो।

अस्ट्रेलियाले घरेलु मैदानमा झन्डै तीन वर्षअघि सम्पन्न महिला विश्वकपमा जस्तै माहोल पुनः सिर्जना गर्ने लक्ष्य लिएको थियो। सो प्रतियोगितामा माटिल्डास सेमिफाइनलसम्म पुग्दै दर्शक उपस्थितिको कीर्तिमान तोडेका थिए। खेल एकतर्फी जस्तो देखिए पनि अस्ट्रेलियाले सहज जित निकाल्न सकेन।

अस्ट्रेलियाको ८५ प्रतिशत बल नियन्त्रण लियो, १५ पटक प्रहार ग¥यो र ६७४ पास पूरा ग¥यो भने फिलिपिन्सले मात्र ११८ पास पूरा ग¥यो। तर फिलिपिन्सको रक्षापंक्ति तोड्न कठिन भयो। हेले रासोले खेलको करिब ३०औं मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई २–० को अग्रता दिलाएकी थिइन्। अफसाइडका कारण गोलले मान्यता पाएन।

फिलिपिन्सकी गोलकिपर ओलिभिया म्याक डानिइलले उत्कृष्ट बचाउ गर्दै टोलीलाई ठूलो अन्तरको हारबाट जोगाइन्। फिलिपिन्स रहेको समूहमा २०२२ को उपविजेता दक्षिण कोरिया र इरान पनि छन्। केरले पूरा खेल खेलिन् भने चोटबाट फर्किएकी म्यारी फोलर ६८औं मिनेटमा मैदान प्रवेश गरिन्। खेलपछि केरले भनिन्, ‘म फेरि आफ्नो आत्मविश्वास फर्काउँदै छु जस्तो लाग्छ। अरूले मूल्याङ्कन गर्ने कुरा हो, तर मलाई लाग्छ म अझै पहिलेजस्तै छु’ उनले थपिन्, ‘मलाई बक्सवरिपरि अझ धेरै बल छुने अवसर चाहिन्छ।’

अस्ट्रेलियाले सन् २०१० यता एसियाली उपाधि जित्न सकेको छैन। २०१४ र २०१८ मा फाइनलमा जापानसँग पराजित भएको थियो भने चार वर्षअघि सेमिफाइनलबाट बाहिरिएको थियो। केरका लागि यो पाँचौं एसियन कप हो र उनी फेरि उपाधि जित्ने लक्ष्यमा छिन्। ‘आज राम्रो सुरुआत भयो र टोलीभित्र धेरै विश्वास छ। तर, आजको खेलले देखायो कि एसियन कपमा धेरै बलिया टोलीहरू छन्,’ केरले भनिन्।

इरानको सहभागिता

इरानले सोमबार दक्षिण कोरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। क्विन्सल्यान्ड राज्यको गोल्ड कोस्टमा आइतबार भएको पत्रकार सम्मेलनमा इरानकी मुख्य प्रशिक्षक मार्जिए जाफारीले इरानसम्बन्धी सैन्य आक्रमण वा सर्वोच्च नेता अली खामेनीको मृत्युबारे टिप्पणी गर्न अस्वीकार गरिन्। उनले भनिन्, ‘अहिले यी विषयमा कुरा गर्नु उपयुक्त हुँदैन। यहाँ महिलाहरूका लागि महत्त्वपूर्ण प्रतियोगिता खेल्न टोली आएको छ र त्यही विषयमा प्रश्न हुनुपर्छ।’

 इरानकी कप्तान जाहराले घानबारीले आफ्नो टोलीको लक्ष्य अर्को वर्ष ब्राजिलमा हुने महिला विश्वकपमा छनोट हुने रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो सबै खेलाडीको सोच समूहचरण पार गर्ने हो। हाम्रो सम्पूर्ण ध्यान विश्वकपमा छनोट भएर ठूलो सफलता हासिल गर्नुमा केन्द्रित छ।’

प्रकाशित: १८ फाल्गुन २०८२ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App