२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
खेल

साफ महिला क्लब च्याम्पियनसिप : इस्ट बंगाल एफसीको उत्कृष्ट सुरुआत

विपक्षीविरुद्ध गोल गरेपछि इस्ट बंगालकी कप्तान फाजिला इक्वापुट। तस्बिर : एन्फा

कप्तान फाजिला इक्वापुटको दुई गोलसँगै उत्कृष्ट प्रदर्शन प्रेरित इस्ट बंगाल एफसीले जारी साफ महिला क्लब च्याम्पियनसिपमा उत्कृष्ट सुरुआत गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आफ्नो पहिलो खेलमा भारतीय क्लब इस्ट बंगालले सोमबार भुटानको ट्रान्सपोर्ट युनाइेटडमाथि ४–० को रबाफिलो जित निकाल्यो। इस्ट बंगाल भारतीय लिग च्याम्पियन हो। 

तर, ट्रान्सपोर्ट भने उपविजेताका रूपमा दक्षिण एसियाली फुटबलको क्लब च्याम्पियनसिप खेल्दै छ। ट्रान्सपोर्टले अधिकांश राष्ट्रिय टोलीका खेलाडी अनुबन्धित गर्दै क्लब च्याम्पियनसिप खेलिरहेको छ। तर पनि भुटानी क्लबले पहिलो जित निकाल्न सकेको छैन। भारतीय टोलीविरुद्ध सटीक पास खेल्दै उत्कृष्ट फुटबल प्रदर्शन गर्ने प्रयास गरे पनि ट्रान्सपोर्टको डिफेन्स लाइन दोस्रो हाफमा पूर्ण असफल भयो। साथै अट्याकिङमा पनि राम्रो गर्न नसक्दा भुटानी टोली दोस्रो खेलमा पनि गोल गर्न असफल भयो। 

ट्रान्सपोर्टले पहिलो खेलमा पाकिस्तानको कराँची फुटबल क्लबसँग गोलरहित रहँदै अंक बाँडेको थियो। दोस्रो खेलमा पनि ट्रान्सपोर्टले राम्रा अवसर सिर्जना गर्न सकेन। यता, यही साफ क्लब च्याम्पियनसिप लक्षित टोली निर्माण गरेको इस्ट बंगाल भने अट्याकिङमा उत्कृष्ट देखियो। 

तथापि, पहिलो खेलको सुरुआती समयमा इस्ट बंगालमा तालमेल त्यति राम्रो देखिएको थिएन। दोस्रो हाफमा भने इस्ट बंगाल पूर्ण हाबी भयो। इस्ट बंगालकी कप्तान फाजिलाले दुई गोल र दुई एसिस्ट नै गरिन्। उनी गत सिजन गोकुलम एफसीबाट खेलेकी थिइन्। गत सिजन भारतीय लिगमा २४ गोल गर्दै उनले सनसनी मच्चाएकी थिइन्। तर उनको टोली लिगमा दोस्रो स्थानमा नै रह्यो। 

उनै फाजिलालाई अनुबन्धित गर्दै इस्ट बंगालले एएफसी महिला च्याम्पियन्स लिग खेल्यो भने पहिलोपल्ट सुरु भएको साफ क्लब च्याम्पियनसिप खेल्न नेपाल आएको हो। युगान्डाकी स्ट्राइकर फाजिलाले पहिलो खेलदेखि नै रबाफ देखाएकी छिन्। इस्ट बंगालले फाजिलासहित युगान्डाकै अम्नाह नबाबी, रेस्टी नानजिरी, घानाकी अबेना एनोमा, नाइजेरियाकी माउरेन ओकपालजस्ता विदेशी खेलाडी समेट्दै नेपालमा आएको हो। अफ्रिकन खेलाडीले पहिलो खेलमा नै छाप छाडेका छन्। इस्ट बंगाललाई क्लब च्याम्पियनसिपको दाबेदारका रूपमा पनि हेरिँदै आएको छ। त्यहीअनुरूप भारतीय टोलीले सुरुआत पनि गरेको छ।

जितपछि भारतीय टोलीका प्रशिक्षक एन्थोनी सामसानले यहाँ उपाधि जित्न नै आएको र सोहीअनुरूप नतिजा पनि निस्किएको बताएका छन्। ‘विपक्षी टोली पनि धेरै राम्रो थियो। उनीहरूले पनि राम्रो खेले। दोस्रो हाफमा हामीले सुधार गर्‍यौँ र जित निकाल्यौँ,’ एन्थोनीले भने, ‘पुरुष फुटबलमा क्लबको इतिहास धेरै राम्रो छ। महिला पनि राम्रो गर्न चाहन्छौँ। हामी यहाँ उपाधि जित्न आएका हौँ।’ भुटानको ट्रान्सपोर्टले पनि राष्ट्रिय टोलीकै कप्तान पेमा छोडेनसहित ९९ प्रतिशत नै राष्ट्रिय टोलीका खेलाडी अनुबन्धित गर्दै आए पनि प्रभाव जमाउन सकेको छैन। उनीहरूबिच राम्रो तालमेल र सुन्दर पास देखिएको छ। तर, गोलका लागि राम्रो अवसर सिर्जना भएको छैन। ट्रान्सपोर्टका प्रशिक्षक यशी वाङ्चुकले पहिलो खेलमा नै देखिएको अट्याकिङ समस्या सुधार हुने अपेक्षा गरिए पनि सफल नभएको बताएका छन्।

‘कराँचीविरुद्ध पनि अट्याकिङ समस्या देखिएको थियो। त्यसमा काम गरेका थियौँ। तर, आज पनि सुधार आउन सकेन,’ वाङचुकले भने,‘पहिलो खेलमा अंक बाँड्नुपर्‍यो। अहिले हार सामना गर्‍यौँ। अझैँ दुई खेल बाँकी छन्। फाइनल पुग्ने आशा गरेका छौँ। एपिएफ र नासरिनविरुद्ध जित निकाल्ने प्रयास गर्छौँ।’ दक्षिण एसियाली महिला फुटबल विकास गर्ने उद्देश्यले साफले सुरु गरेको क्लब च्याम्पियनसिपको पहिलो संस्करणमा पाँच देशका क्लबले मात्र प्रतिस्पर्धा गरेका छन्। लिगमा शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछन्। अहिलेसम्म नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय टोली इस्ट बंगालले मात्र जित निकाल्न सकेका छन्। अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित एपिएफले पहिलो खेलमा नासरिनलाई ४–० ले हराउँदै फाइनलको दाबेदारका रूपमा उभिसकेको छ।

सोमबार नै भएको दोस्रो खेलमा नासरिनले कराँचीसँग अंक बाँड्नुपर्‍यो। कराँचीले दुई खेलबाट दुई अंक बटुलेको छ भने नासरिनको दुई खेलबाट एक अंक मात्र छ। अहिलेसम्म खेल हेर्दा एपिएफ र इस्ट बंगाल नै उपाधिका दाबेदारको देखिएका छन्। तर, अन्य तीन टोलीमा पनि एपिएफ र इस्ट बंगालको उपाधि लक्ष्यमा बाधक बन्न सक्ने क्षमता भने छ। ट्रान्सपोर्टका प्रशिक्षक वाङ्चुकले पनि अहिले नै फाइनलको यात्रा नसकिएको संकेत गरेका छन्। यद्यपि, इस्ट बंगाल र एपिएफको आक्रामक शैलीले भने उनीहरूलाई नै दाबेदारको रूपमा हेरिनु स्वाभाविक देखिन्छ।

इस्ट बंगालले ट्रान्सपोर्टसँग पहिलो गोलका लागि भने निकै संघर्ष गर्‍यो। तर, पहिलो गोल निस्किएपछि बंगालले आक्रामक फुटबल खेलेको थियो। खेलको ३६औँ मिनेटमा बंगालले कप्तान फाजिलाको गोलबाट अग्रता लियो। सौम्या गोगुलिथले राइट साइडबाट दिएको बललाई उनले हेडरमार्फत जाली चुमाइन्। ट्रान्सपोर्टले ४५औँ मिनेटमा बराबरी गर्ने अवसर गुमायो। देकी लाजोमले वान भर्सेस वानको स्थितिमा पाएको बललाई नियन्त्रणमा लिन सकिनन्। ६०औँ मिनेटमा सुलन्जना राउलले गोल गर्दै अग्रता दोब्बर बनाइन्। कप्तान फाजिलाको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले गोल गरिन्। ६१औँ र ६२औँ मिनेटमा फाजिलको प्रहार सफल भएन।

एक मिनेटपछि नै फाजिलाकै कट पासमा इस्ट बंगालले तेस्रो गोल गर्‍यो। राइट साइडबाट फाजिलाको कट पासलाई युगान्डाकी रेस्टी नानजिरीले वान टचमार्फत गोल गरिन्। ७२औँ मिनेटमा फाजिलाले नै व्यक्तिगत दोस्रो गोल गरिन्। सुलन्जनाको पासमा फाजिलाले पेनाल्टी बक्सभित्रबाट वान टचमार्फत बललाई जाली चुमाइन्। त्यसपछि थप गोल हुन सकेन र इस्ट बंगालले भुटानको ट्रान्सपोर्टमाथि ४–० को फराकिलो जित निकाल्यो। पहिलो खेलमा ट्रान्सपोर्टले कराँची एफसीसँग गोलरहित बराबरी खेलेको थियो।

प्रकाशित: २३ मंसिर २०८२ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App