सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता पोखरामा भोलि (शनिबार) हुँदैछ। नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रूपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। प्रतियोगिता शनिबार विहान पोखरा रंगशालाबाट सुरु हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा २१ विधामा १० हजार धावक दौडिँदै छन्। जसमा प्रतिष्पर्धात्मक रूपमा ३ हजार ५ सय ६ र रन फर फनमा ६ हजार ७ सय जना गरी कुल १० हजार २ सय ६ जना दौडिने छन्।
प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथनमा २१ देशका ६० भन्दा बढी विदेशी धावकसहित १५१ जनाले प्रतिष्पर्धा गर्ने जनाइएको छ। फूल म्याराथनकै ४५ वर्षभन्दा माथिको उमेर समूहमा २८ जना धावक दौडिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए। हाफ म्याराथन पुरुषतर्फ ८ विदेशीसहित १८८ जना, महिलातर्फ ८ विदेशीसहित १९० जना, ४५ वर्षभन्दा माथिको उमेर समूहमा १ विदेशीसहित २५ जनाले दौडिनका लागि नाम दर्ता गराएको उनले बताए।
१० किलोमिटर दौड विधाको पुरुषतर्फ ७ विदेशीसहित २०७ जना, महिलातर्फ ६ विदेशीसहित ८६ जना, ५ किलोमिटर भेट्रान्स (५० वर्ष माथि)मा पुरुषतर्फ ७५ जना र ५ किलोमिटर भेट्रान्स (४५ वर्ष भन्दा माथि)कोमा महिलातर्फ ३० जना दौडिने जनाइएको छ। ५ किलोमिटर छात्रतर्फ १ हजार ६ सय ५० र छात्रातर्फ ४ सय ७५ जना, ५ किलोमिटर पुरुष (१७ देखि ४९ वर्ष उमेर समूह)तर्फ २ सय २५ जना, ५ किलोमिटर महिला (१७ देखि ४४ वर्ष उमेर समूह)तर्फ ८० जना, ५ किलोमिटर कर्पोरेट महिलातर्फ १ सय ६० जना र ५ किलोमिटर कर्पोरेट पुरुषतर्फ ७० जना दौडिने उनले जानकारी दिए।
प्रतिष्पर्धात्मक दौडबाहेक सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अप्रतियोगीका रूपमा रन फर फन दौड पनि हुने अध्यक्ष गुरुङले जानकारी दिए। जहाँ दौडिन नसक्ने तर रहर गर्नेहरू दौडिन पाउनेछन्।
प्रतियोगिता अन्तर्गत ४२.१९५ किलोमिटरको म्याराथन दौड रंगशालाबाट सुरु भएर पृथ्वीचोक, अमरसिंहचोक, कदम मार्ग, मियापाटन, गौंडाकोमुख, माटेपानी, पुरानोधारा, सयपत्रीचोक, पहेंलोपुल, नारायणस्थान मन्दिर, बाल मन्दिरचोक, पिएन क्याम्पस गेट, भीमकालीपाटन, हरिचोक, विन्ध्यबासिनी मन्दिर, बागलुङ बसपार्क, पस्र्याङ, जिरोकिमी, जरेबर, डिहिकोपाटन, खहरेचोक, वाटरफ्रन्ट, खपौंदी, माछापोखरी, भकुण्डे, चंखपुर, पामे, लौरुख, शिद्द वाराही मावि, लामो पुल, घाँटीछिना मुनि, घाँटीछिना पुगेर पुनः, पुल, शिद्द वाराही मावि, लौरुख, पामे, चंखपुर, भकुण्डे, माछापोखरी, खपौंदी, रातोमाटे, वाटरफ्रन्ट, खहरे, हल्लनचोक हुँदै वाराहीचोकस्थित मैदानमा आएर समापन हुने सचिव महेश पौडेलले जानकारी दिए। प्रतियोगितालाई मञ्चले प्रविधीमैत्री बनाएको जनाएको छ। जस अनुसार हरेक धावकको दुबै खुट्टामा चिप्स राखेर दौडाईने र त्यसकै आधारमा उसले दौडिएको समय अनुसार रेकर्ड राखिने उनको भनाइ छ।
पोखराको प्रतिष्ठित खेलको रूपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ।
म्याराथनमा प्रथम हुनेले ४ लाख, दोश्रो हुनेले २ लाख, तेश्रो हुनेले १ लाख, चौथो हुनेले ५० हजार, पाचौं हुनेले ३० हजार, छैटौं हुनेले २० हजार, सातौं हुनेले १० हजार आठौं हुनेले ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।
४५ वर्षभन्दा माथिको उमेर समूहको म्याराथनमा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गर्ने जनाइएको छ। त्यस्तै, म्याराथन अन्तर्गत नै नेपाल विधामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार, चौथो हुनेले १५ हजार र पाचौं हुनेले १० हजार तथा गण्डकी विधामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाचौं हुनेले १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।
हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले ३० हजार, चौथो हुनेले २० हजार पाचौं हुनेले १० हजार, ४५ वर्षभन्दा माथि उमेर समूहको हाफ म्याराथनमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने उनले बताए।
१० कि.मी. पुरुष/महिला दौडमा प्रथमले ३०, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ। ५ किलोमिटर ४५ वर्ष माथिको दौड महिलातर्फ र ५० वर्ष माथिको पुरुष दौडमा प्रथम हुनेले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ। ४४ वर्षभन्दा मुनिको ५ किलोमिटर खुल्ला महिला तथा ४९ वर्षभन्दा मुनिको पुरुष दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार, कर्पोरेटतर्फको महिला तथा पुरुष दौडमा पनि प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ।
प्रतियोगिता अन्तर्गत मा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहीन महिला तथा पुरुष दौड भने माघ २४ गते नै सम्पन्न भइसकेको मञ्चले जनाएको छ। जसमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने र सो पुरस्कार पनि फागुन २ गते हुने म्याराथन प्रतियोगिताको समापन कार्यक्रममै गरिने मञ्चले जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०८२ २०:१४ शुक्रबार





