२ चैत्र २०८२ सोमबार
image/svg+xml
खेल

फेरि चम्किए रोहित–कोहलीः दक्षिण अफ्रिकालाई ३५० रनको विशाल चुनौती

क्रिकेट जीवनको उत्तरार्धमा रहेका भारतीय स्टार क्रिकेट रोहित शर्मा र विराट कोहली दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय खेलमा चम्किएका छन्। आइतबार भइरहेको खेलमा कोहलीले शतक प्रहार गर्दा रोहितले पनि अर्धशतक प्रहार गरे।  

कोहलीले १२० बलमा ७ छक्का र ११ चौका प्रहार गरेर १३५ रन जोड्दा रोहितले ५१ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको मद्दतले ५७ रन बनाए। दुवै जनाले तेस्रो विकेटका लागि १३६ रनको साझेदारी पनि गरेका थिए।  

अन्तर्राष्ट्रिय टी–२० र टेस्ट क्रिकेटबाट सन्यास लिएका दुवै स्टार खेलाडी एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने खेलिरहेका छन्। उनीहरू दुवै जना सन् २०२७ को एकदिवसीय विश्वकप खेल्ने चाहनामा छन्। तर बढ्दो उमेरका कारण उनीहरूको क्रिकेट भविष्यलाई लिएर अनेक विवाद र अड्कलबाजी भारतभरी चलिरहेका छन्। यस्तोमा उनीहरूको प्रदर्शनलाई भारतीय क्रिकेट प्रशंसकले चासोपूर्वक हेरिरहेका हुन्छन्।  

तमाम प्रश्नका बिच घेरिएका दुवै जनाले केही समय अघि अस्ट्रेलियासँगको एकदिवसीय सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए। जहाँ रोहित एक शतक र एक अर्धशतकसहित प्लेयर अफ द सिरिज चुनिँदा कोहलीले एक अर्धशतक प्रहार गरेर विरोधीको मुखमा पट्टी लगाएका थिए।  

उनीहरूको अनुपस्थितिमा भर्खरै दक्षिण अफ्रिकासँग भारतले गृहमैदानमै दुई खेलको टेस्ट सिरिज गुमाएको थियो। त्यही पृष्ठभूमिमा सुरु भएको एकदिवसीय सिरिजमा उनीहरू आएर फेरि राम्रो प्रदर्शन गरिदिएपछि उनीहरूका समर्थकलाई थप ऊर्जा मिलेको छ।  

आजको खेलमा रोहित र कोहलीको शानदार प्रदर्शनको मद्दतले भारतले दक्षिण अफ्रिकासामू ३५० रनको विशाल विजयलक्ष्य प्रस्तुत गरेको छ। उक्त लक्ष्य तयार पार्ने क्रममा भारतीय टोलीको कप्तानी गरिरहेका केएल राहुलले ५६ बलमा ६० रन र रवीन्द्र जाडेजाले २० बलमा ३२ रनको योगदान दिए।  

दक्षिण अफ्रिकाका तर्फबाट मार्को यान्सन, नान्द्री बर्गर, कोरबिन बोस्च र ओर्टनेल बार्टम्यानले समान २–२ विकेट लिए।

प्रकाशित: १४ मंसिर २०८२ १८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App