२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

म्यानचेस्टर सिटी छाड्दै रिइन्डर्स, साउदी क्लब अल-कादसियाह जाने

म्यानचेस्टर सिटीका मिडफिल्डर तिज्जानी रिइन्डर्स साउदी प्रो लिग क्लब अल-कादसियाह जाने भएका छन्।

उनी करिब ५२ मिलियन पाउन्डमा साउदी क्लबमा आबद्ध हुने सहमति भएको छ। सिटीले नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडी रिइन्डर्सका लागि ५२ मिलियन पाउन्डको स्थानान्तरण शुल्कमा सहमति जनाएको हो। सिटीले उनलाई गत वर्ष एसी मिलानबाट ४६.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।

सिटीमा सुरुवात राम्रो गरेका २८ वर्षीय रिइन्डर्सले पछिल्लो सिजन भने अपेक्षाअनुसार प्रभाव पार्न सकेनन्। उनले क्लबका लागि ४७ खेलमा सात गोल गरेका थिए। सम्भावित स्थानान्तरणअघि बिहीबार रिइन्डर्सले सिटीको मुख्य टोलीभन्दा छुट्टै प्रशिक्षण गरेका थिए। अल-कादसियाहको प्रशिक्षकका रूपमा पूर्व लिभरपुल, सेल्टिक र लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्स रहेका छन्।

रिइन्डर्सको बहिर्गमनसँगै सिटीको मिडफिल्डमा ठूलो परिवर्तनको संकेत देखिएको छ। विश्वकपका उत्कृष्ट खेलाडी रोड्रीको भविष्यबारे पनि अनिश्चितता कायमै छ भने चेल्सीका अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजप्रति सिटीको चासो रहेको बताइएको छ।

रिइन्डर्सले २०२६ को विश्वकपमा नेदरल्यान्ड्सको टोलीबाट तीन खेल खेलेका थिए। उनले जापान, स्विडेन र ट्युनिसियाविरुद्धको समूह चरणका खेलमा सुरुवात गरेका थिए। तर अन्तिम ३२ को खेलमा मोरक्कोविरुद्ध भने उनी मैदानमा उत्रिएनन्। उक्त खेलमा नेदरल्यान्ड्स पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

प्रकाशित: २९ श्रावण २०८३ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App