२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

रविको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन रवि खड्का दुई स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राख्न सफल भएका छन्। २ अन्डर ६६ सहित समग्रमा ५ अन्डर १ सय ३१ को स्कोरमा रविले पहिलो दिनका संयुक्त लिडर रामे मगरलाई २ स्ट्रोकले पछि पारेका हुन्।

बुधबार इभन पार ६८ को स्कोर बनाएका रामे मगर समग्रमा ३ अन्डर १ सय ३३ को स्कोरमा दोस्रो स्थानमा झरे। भुवन नगरकोटीले  ३ अन्डर ६५ स्कोर गर्दा समग्रमा २ अन्डर १ सय ३४ सहित तेस्रो स्थानमा रहे। ३६ होलको समाप्तिमा १ अन्डर १ सय ३५ को स्कोरमा दिनेश प्रजापति र सञ्जय लामा संयुक्त रूपमा चौथो स्थानमा छन्। दिनेशले बुधबार १ अन्डर ६७ र सञ्जयले इभन पार ६८ मा खेल सकाए।

समग्रमा १ ओभर १ सय ३७ बनाएका प्रदीपकुमार लामा छैटौं स्थानमा रहे। उनले बुधबारको खेल २ अन्डर ६६ मा सकाए। ४ ओभर ७२ को स्कोर कार्ड बनाएका जयराम श्रेष्ठ समग्रमा २ ओभर १ सय ३८ सहित सातौं स्थानमा छन्।

समग्रमा ४ ओभर १ सय ४० को स्कोरमा तोरणविक्रम शाही र रमेश अधिकारीले संयुक्त रूपमा आठौं स्थान बाँडे। तोरणले २ अन्डर ६६ र रमेशले इभन पार ६८ मा दोस्रो दिनको खेल सकाए। भुवनकुमार रोक्का समग्रमा ५ ओभर १ सय ४१ सहित दसौं स्थानमा छन्। उनले बुधबार ५ ओभर ७३ को प्रदर्शन गरे।

रोयल नेपाल  गल्फ क्लब (आरएनजिसी) मा रविले दिनको सुरुआत इगलबाट गरे। पहिलो होलमा इगलको सफलता प्राप्त गरेका उनले पाँचौं, छैटौँ र आठौं होलमा बर्डी प्रहार गरे। तर दोस्रो, सातौं र नवौं होलमा एकएक सट खेर फाल्दा फ्रन्ट नाइन २ अन्डर ३२ मा सकाए। यसपछि १०औं होलको बर्डीका विरुद्ध ११औं होलको बोगीले ब्याक नाइन इभन पार ३४ खेले।

रामेले पहिलो र पाँचौं होलमा बर्डी प्रहार गर्दा चौथो, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन १ ओभर ३५ मा सकाए। यसपछि १२औं होलमा एक सट खेर फाल्दा १६औं र १८औं होलमा बर्डी प्रहार गरे।

भुवनले फ्रन्ट नाइन २ अन्डर ३२ र ब्याक नाइन १ अन्डर ३३ मा पूरा गरे। उनले पहिलो र दोस्रो होलको बर्डीले फ्रन्ट नाइन बोगीरहित खेले। यसपछि १२औं र १३औं होलमा पनि एकएक सट जोगाए। तर १८औं होलमा बोगीको सामना गरे।

एमेच्योरतर्फ फुन्सोक नोर्बु लामाले पहिलो दिनका संयुक्त लिडर तथा राष्ट्रिय टिमका खेलाडी राहुल विश्वकर्मालाई एक स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा उक्लिए। बुधबार १ अन्डर ६७ खेलेका फुन्सोकले समग्रमा १ ओभर १ सय ३७ को नतिजा निकाले। लगातार दोस्रो दिन १ ओभर ६९ खेलेका राहुलले समग्रमा २ ओभर १ सय ३८ स्कोर गरे।

३६ होलको समाप्तिमा १२ ओभर १ सय ४८ स्कोर गरेका १८ प्रो र ८ एमेच्योर खेलाडीले कट बनाएका छन्। प्रोतर्फ कुमार कामी, नेपाल नम्बर एक प्रो नीरज तामाङ, धनबहादुर थापा, दीपक मगर, टंकबहादुर कार्की, रामकृष्ण श्रेष्ठ, सुमन परियार र कृष्णमान राजवाहकले कट बनाए। १२ ओभर १ सय ४८ स्कोर गरेका वसन्तराज गुरुङ भने काउन्ट ब्याकमा बाहिरिए।

एमेच्योरतर्फ  महेन्द्र फगामी, स्वप्निल भट्टराई, प्रकृत तामाङ, सरोज थापा, किशोर बस्नेत र प्रज्वल गुरुङले अन्तिम ३६ होलको प्रतिस्पर्धाको लागि स्थान सुरक्षित गरेका छन्।  

प्रकाशित: २९ माघ २०८२ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App