१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
खेल

जिम्बाब्वेविरुद्ध विकेट लिँदै राशिदले बनाए दुर्लभ विश्व कीर्तिमान

अफगानिस्तानका स्टार स्पिनर राशिद खानले जिम्बाब्वेविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा एक विकेट लिँदै नयाँ विश्व कीर्तिमान बनाएका छन्। 

शारजाहमा बिहीबार भएको खेलमा जिम्बाब्वेका ब्याटर तादिवानाशे मारुमानीलाई दुई रनमा आउट गरेपछि राशिदले यो उपलब्धि हासिल गरेका हुन्।

खेलको नवौं ओभरमा मारुमानीलाई एलबीडब्ल्यू आउट गरेका राशिद पुरुष टी-२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो बलर बनेका छन्। उनले आफ्नो १२०औं खेलमा यो उपलब्धि हासिल गरेका हुन्।

२८ वर्षीय राशिदको यस ढाँचामा बलिङ औसत १३.९६ र इकोनोमी दर ६.१३ छ। उनले दुई पटक एकै खेलमा पाँच विकेट लिएका छन्। उनको उत्कृष्ट प्रदर्शन ५ विकेटमा ३ रन हो।

२०० विकेटसहित राशिद पुरुष टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा छन्। दोस्रो स्थानमा रहेका इंग्ल्यान्डका आदिल राशिदभन्दा उनी २९ विकेटले अगाडि छन्। गत वर्ष अक्टोबरमा बंगलादेशविरुद्धको खेलमा राशिद एकदिवसीय अन्तर्राष्ट्रियमा २०० विकेट लिने पहिलो अफगान खेलाडी पनि बनेका थिए।

यस खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर २२१ रन बनाएको थियो। एक समय ३८ रनमै पाँच विकेट गुमाएको अफगानिस्तानलाई अज्मतुल्लाह उमरजाई र इजाज अहमद अहमदजाईले उत्कृष्ट साझेदारी गर्दै सम्हालेका थिए।

उमरजाईले ५० बलमा ११६ रन बनाए। उनले पाँच चौका र १२ छक्का प्रहार गरे। इजाजले २७ बलमा ५२ रन जोडे। यी दुईले छैटौं विकेटका लागि ५९ बलमा १४२ रनको साझेदारी गरे।

कप्तान राशिद खानले पनि अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित २५ रन बनाए। उनले चार छक्का प्रहार गरे। मुजीब उर रहमान दुई रनमा अविजित रहे।

२२२ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले २० ओभरमा पाँच विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। उसका कप्तान सिकन्दर राजाले ५६ बलमा अविजित १०६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। अफगानिस्तानले खेल १९ रनले जित्यो।

जिम्बाब्वेका ब्राड इभान्स र कुन्डाई माटिगिमुले दुई-दुई विकेट लिए। भिन्सेन्ट मासेकेसा, अर्नेस्ट मासुकु र सिकन्दर राजाले एक-एक विकेट लिए। एजेन्सी

प्रकाशित: १३ कार्तिक २०८३ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App