ब्राजिलको चुनावमा पराजित भएपछि अमेरिका पुगेका फ्लाभियो बोल्सोनारोले आफूलाई देशको नेता घोषणा गरेपछि उनको मजाक उडाइएको छ। उनको घोषणाले आफ्नै राजनीतिक समूहभित्र पनि असन्तुष्टि र आलोचना निम्त्याएको छ।
४५ वर्षीय सिनेटर फ्लाभियो पूर्वराष्ट्रपति जैर बोल्सोनारोका जेठा छोरा हुन्। यस महिना पहिलो चरणको मतदानमा अग्रता लिए पनि उनी आइतबार भएको दोस्रो चरणको चुनावमा वामपन्थी नेता तथा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएका थिए।
आफूमाथि भइरहेका विभिन्न अनुसन्धानका कारण राहदानी बुझाउन आदेश दिइएपछि उनी मंगलबार पत्नी र दुई छोरीसहित ब्राजिलबाट अर्जेन्टिना गएका थिए। त्यसपछि उनी इक्वेडर हुँदै अमेरिका पुगेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिने फ्लाभियोले यसअघि मे महिनामा ह्वाइट हाउसको भ्रमण गरेका थिए। ट्रम्प प्रशासनले यसै साता फ्लाभियो र उनको परिवारलाई अमेरिकी भिसा दिएको थियो।
अमेरिकाको फ्लोरिडा पुगेको केही घण्टामै उनले सामाजिक सञ्जालमा आफू ब्राजिलको ‘वास्तविक राष्ट्रपति’ भएको दाबी गर्दै वक्तव्य सार्वजनिक गरे। केही मिनेटपछि उनले वक्तव्य सच्याउँदै आफूलाई देशको ‘नेता’ भने। वक्तव्यको पहिलो संस्करणमा सन् १९६० को दशकदेखि प्रयोगमा नरहेको ब्राजिलको पुरानो राष्ट्रिय चिह्नसमेत राखिएको थियो। उनका एक सहयोगीले यसलाई च्याटजीपीटीको गल्ती भनेका छन्।
उनको घोषणापछि ब्राजिलका सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक मजाक उडाइएको छ। ब्राजिलकी चर्चित गायिका अनिताले आफू शरीरमा देखिने छालाको खाल्डाखुल्डीबाट मुक्त भएको घोषणा गरिन्। अर्का एक व्यक्तिले आफूलाई ट्विटरको ‘वास्तविक अध्यक्ष’ बताए भने एक प्रयोगकर्ताले आफू आगामी चिठ्ठाको विजेता भएको घोषणा गरे। यी पोस्टमार्फत उनीहरूले फ्लाभियोको घोषणाको व्यंग्य गरेका थिए।
ब्राजिलका प्रमुख सञ्चारमाध्यमले पनि उनको वक्तव्यको आलोचना गरेका छन्। ओ ग्लोबो दैनिकले उनलाई ‘पागलखानाको नेपोलियन’सँग तुलना गर्दा फोल्हा दे साओ पाउलोले उनको वक्तव्यलाई ‘दयनीय’ भन्यो। विभिन्न राजनीतिक दलका नेताहरूले चुनावी नतिजाको सम्मान गर्नुपर्ने बताएका छन्।
दक्षिणपन्थी नेता तथा साओ पाउलोका गभर्नर टार्सिसियो डे फ्रेटासले पनि फ्लाभियोको घोषणाबाट आफूलाई अलग राखे। उनी जैर बोल्सोनारोको सरकारमा मन्त्री थिए। पूर्वराष्ट्रपतिले छोरालाई अघि सार्नुअघि उनलाई दक्षिणपन्थी समूहको सम्भावित मुख्य उम्मेदवारका रूपमा हेरिएको थियो।
‘हामी लोकतन्त्रमा विश्वास गर्छौं। चुनावको नतिजा जनताको निर्णय हो र त्यसको सम्मान गर्नुपर्छ,’ डे फ्रेटासले एस्टाडाओ दैनिकसँगको अन्तर्वार्तामा भने। फ्लाभियो देशबाहिर रहेपछि दक्षिणपन्थी समूहको नेतृत्व कसले गर्ने भन्ने चर्चा सुरु भएको छ। डे फ्रेटासले सन् २०३० को चुनावमा उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन्।
फ्लाभियोको चुनावी अभियान सम्हालेका रोजेरियो मारिन्होले चुनावमा धाँधली भएको दाबीको कुनै प्रमाण नभएको बताए। त्यस्तै, जैर बोल्सोनारोले सर्वोच्च अदालतमा नियुक्त गरेका निर्वाचन अदालतका प्रमुख कासियो नुनेस मार्क्सले पनि निर्वाचन प्रक्रिया सुरक्षित रहेको बताएका छन्।
फ्लाभियोले विदेशमै बसेर ब्राजिलको विपक्षी समूहको नेतृत्व गर्ने बताएका छन्। तर, रियो दि जेनेरियो राज्य विश्वविद्यालयका राजनीतिशास्त्री गेराल्डो मोन्टेइरोले उनको यो घोषणा आफ्नो राजनीतिक प्रभाव कायम राख्ने योजनाअन्तर्गत आएको बताएका छन्।
उनका अनुसार फ्लाभियोको वक्तव्यले जैर बोल्सोनारोप्रति अत्यधिक वफादार रहनेहरू र अर्को राजनीतिक विद्रोहको प्रयासमा सहभागी हुन नचाहनेहरूबिच दूरी बढाएको छ।
चुनावमा पराजित भए पनि दक्षिणपन्थी दलले संसदमा बलियो उपस्थिति बनाएको छ। बोल्सोनारोको लिबरल पार्टीले आगामी फेब्रुअरीदेखि संसदमा सबैभन्दा धेरै सिट पाउनेछ। तर, मोन्टेइरोले नयाँ निर्वाचित नेताहरूले आफ्नो स्थान सुरक्षित गरिसकेकाले फ्लाभियोले विदेशबाट विपक्षी समूहको नेतृत्व गर्न सक्नेमा आफूलाई विश्वास नभएको बताए।
मोन्टेइरोका अनुसार फ्लाभियो आफ्ना बुबाकै राजनीतिक बाटोमा अघि बढिरहेका छन्। सन् २०२२ को चुनावमा लुलासँग पराजित भएपछि सत्ता कब्जाको योजना बनाएको अभियोगमा जैर बोल्सोनारोलाई २७ वर्षको जेल सजाय सुनाइएको थियो। अहिले उनी घरमै नजरबन्दमा सजाय भोगिरहेका छन्।
बिहीबार लिबरल पार्टीका नेता भाल्डेमार कोस्टा नेटोले जैर बोल्सोनारोलाई भेटेका थिए। भेटपछि बाहिरिने क्रममा उनले फ्लाभियोको वक्तव्यलाई कसैले समर्थन नगर्ने बताए। पार्टीले अब अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। एजेन्सी
प्रकाशित: १३ कार्तिक २०८३ ०९:०६ शुक्रबार


-600x400.jpg)


