तेक्वान्दो खेलमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय युवा उद्यमी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्। संघको चितवन, सौराहामा सम्पन्न पाँचौँ अधिवेशनबाट निर्वाचित अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।
वि.सं. २०४९ सालमा छाउनीस्थित बालग्राम तेक्वान्दो डोजाङबाट खेल यात्रा सुरु गरेका गिरीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पदक जितिसकेका छन्। यसअघि उनी संघको केन्द्रीय सदस्य र तेक्वान्दो राष्ट्रिय टिमका संयोजकका रूपमा पनि सक्रिय थिए।
गिरीले लामो समयदेखि आफ्नो डोजाङ सञ्चालन गर्दै पाँच सयभन्दा बढी ब्ल्याक बेल्ट खेलाडी उत्पादन गरेका छन्। उनका प्रशिक्षणबाट दोस्रोदेखि पाँचौँ डानसम्मको उपाधि प्राप्त खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
‘मैले प्रशिक्षित गरेका खेलाडीहरूले देश र विदेशमा नेपालको प्रतिष्ठा बढाइरहेका छन्,’ उपाध्यक्ष गिरीले भने, ‘अब संघको नेतृत्व तहमा रहँदै तेक्वान्दोलाई अझ संस्थागत गर्दै खेलकुदमार्फत समाज र देश विकासमा योगदान दिने लक्ष्य लिएको छु।’
तेक्वान्दो बाहेक गिरी व्यवसायिक र सामाजिक क्षेत्रमा पनि सफल व्यक्तिका रूपमा परिचित छन्। खेलाडी र संघका विभिन्न गतिविधिमा उनले निरन्तर सहयोग गर्दै आएका छन्।
तेक्वान्दो आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उनले भने, ‘अध्यक्ष गुरुङको भिजनअनुसार आफूले हासिल गरेको अनुभव र स्रोतलाई प्रयोग गरी संघका कार्यक्रमहरूलाई प्रभावकारी बनाउनेछु।’
उनका अनुसार नेपालमा तेक्वान्दोले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गरिसकेको छ, र आगामी दिनमा यसलाई अझ उच्च स्तरमा पुर्याउन निरन्तर प्रयास जारी रहनेछ।
प्रकाशित: ३ कार्तिक २०८२ १७:४० सोमबार





