२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

राजविराज राजदेवि र तिरहुट टाइगर्सको दोस्रो जित

राजविराज राजदेवि रोयल र तिरहुट टाइगर्सले जारी सप्तरी प्राइड लिगमा दोस्रो जित निकाल्दै सेमिफाइनलको बलियो दाबेदारी दिएका छन्।

सप्तरीको राजविराजमा शनिबार सम्पन्न खेलमा राजविराज राजदेविले हुनमान नगर हिरोजलाई र तिरहुट टाइगर्सले खडक वारियर्सलाई हराउँदै समूहमा दोस्रो जित निकालेका हुन्। समूह ‘ए’ को खेलमा राजविराज राजदेविले हुनमान नगर हिरोजलाई ६६ रनको फराकिलो अन्तरले हराएको हो।

एक सय ४६ रनको लक्ष्य पछ्याएको हनुमान नगर हिरोज १८.३ ओभरमा ७९ रनमै अलआउट हुन पुग्यो। हनुमान नगरका लागि आठौं नम्बरका ब्याटर सकिब खानले २० रन जोडे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले २० बलमा दुई चौका हिर्काए। ओपनर सनत खर्गले १६ रन र मध्य क्रमका ब्याटर शिबन यादवले १४ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा रन बटुल्न असफल भए।

हनुमानले अतिरिक्त १५ रन पनि पाएको थियो। राजविराज राजदेवि रोयलको बलिङमा दिवान पुनले सर्वाधिक चार विकेट लिए। मोहम्मद सकिम आलम र जितु यादवले समान दुई तथा अभिशेक तिवारी र मोहम्मद सोहेलले समान एक विकेट लिँदै हनुमान नगरको इनिङ सस्तैमा रोके। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजविराज राजदेविले निर्धारित ओभरमा सात विकेट गुमाउँदै एक सय १४५ रनको योगफल बनाएको थियो।

राजविराजले पावर प्लेमा राम्रो सुरुआत पायो। ओपनरद्वय प्रविन यादव १४ रन र रोहन विक २४ रनमा आउट भए। तल्लो क्रमका नितेश यादवले २२ रनको योगदान दिँदा दिवान ३९ रनमा अविजित रहे। दिवानले ३८ बलमा तीन चौका हिर्काए।

राजविराज राजदेविले अतिरिक्त २७ रन पायो। हनुमान नगरको बलिङमा सन्जन बैठले तीन तथा सञ्जीव मण्डलले दुई र शिबन यादवले एक विकेट लिए। समूहमा राजविराजले दोस्रो जित निकाल्दा हनुमान नगरले भने लगातार दोस्रो हार सामना गर्‍यो। समूह ‘बी’ को खेलमा तिरहुट टाइगर्सले खडक वारियर्सलाई हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ।

पबी स्कुल मैदानमा खडक वारियर्सले दिएको ६७ रनको लक्ष्य तिरहुट टाइगर्सले १३.३ ओभरमा पाँच विकेट गुमाएर भेटायो। तिरहुट टाइगसका लागि ओपनर अविनाश कर्णले सर्वाधिक २६ रन योगदान दिए। उनले १८ बलमा तीन चौका र दुई छक्का प्रहार गरे।

राहुल मण्डल २० रनमा अविजित रहे। उनले २० बलमा तीन चौका हिर्काए। यसअघि टस जितेर ब्याटिङ गरेको खडक वारियर्स १५.५ ओभरमै मात्र ६६ रनमा अलआउट भएको थियो। उसका लागि अनिलकुमार यादवले सर्वाधिक १५, सन्तोष कार्कीले ११ र फिर्दोश अन्सारीले १० रन बनाए। यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टाइगर्सको बलिङमा श्रवन यादव र अजय यादवले समान तीन विकेट लिए। श्रवनले ३.५ ओभरमा मात्र ६ रन खर्चिए। अजयले चार ओभरमा १४ रन खर्चिए। चित्रबहादुर बिस्टले दुई र अनिल यादवले एक विकेट लिए। प्लेयर अफ द म्याच श्रवन यादव घोषित भए।

कुल आठ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा हनुमान नगर हिरोज, कञ्चनरूप राइनोज, राजगढ वारियर्स, राजविराज राजदेवी रोयल छन्। समूह ‘बी’ मा तिराहुट टाइगर्स, रोयल च्यालेन्जर वाराही वीरपुर, रूपनी राइडर्स तथा खडक वारियर्स छन्। समूहचरणमा सबै टिमले एकअर्कासँग खेलेपछि दुवै समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल साउन १ गते हुनेछ। प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २९ असार २०८२ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App