१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

राहुल यादव चम्किँदा कर्णाली याक्स दबाबमा, ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा जारी तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको कर्णाली याक्सले ८.१ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको कर्णालीले सुरुवाती दबाब झेल्नुपरेको छ।

हाल क्रिजमा आरिफुल इस्लाम १७ बलमा ३ छक्का प्रहार गर्दै ३० रन बनाएर आक्रामक रूपमा खेलिरहेका छन् भने पवन सर्राफले ८ बलमा ४ रन बनाएर उनलाई साथ दिइरहेका छन्।

कर्णालीलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर राहुल यादवले कसिलो बलिङ गरे। उनले २ ओभरमा मात्र २ रन खर्चेर २ महत्त्वपूर्ण विकेट लिए। पावरप्लेको समाप्तिमा कर्णाली ३ विकेटको क्षतिमा ३८ रनको कमजोर स्थितिमा पुगेको थियो।

कर्णालीले पहिलो ओभरको अन्तिम बलमै ओपनर मार्क वाटलाई व्यक्तिगत १ रनमा मोइन अलीको बलमा गुमाएको थियो। त्यसपछि आएका विकेटकिपर दीपक डुम्रेले ५ बलमा २ छक्कासहित १३ रन जोडे पनि २.१ ओभरमा १८ रनको कुल स्कोर हुँदा राहुल यादवद्वारा बोल्ड भए।

दबाबमा परेका हुसेन तलत १४ बलमा ३ रन मात्र बनाएर राहुलकै बलमा अनिल साहको हातबाट क्याच आउट भए। जनकपुरका लागि मोइन अलीले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिए।

यस्तै, कप्तान हरमीत सिंहले १.१ ओभरमा ४ रन, जेम्स निसमले १ ओभरमा ७ रन र ललित राजवंशीले २ ओभरमा २४ रन खर्चिएका छन्।

कप्तान सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्सका प्रमुख अलराउन्डर गुल्सन झासहितका ब्याट्सम्यानहरू क्रिजमा आउन बाँकी नै छ।

प्रकाशित: १० कार्तिक २०८३ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App