कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। कोशी प्रदेश लोकसेवा आयोगको परीक्षा प्रणाली, कार्यविधि कार्यान्वयन र आर्थिक अनुशासनका विषयमा विवादमा तानिएका अध्यक्ष गुरागाईँले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
गुरागाईँले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा दिएका थिए। उनको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोगका अध्यक्षको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो।
अध्यक्ष गुरागाईँ २०८१ असार २३ गते प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका थिए। नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उनको पदावधि ६ वर्षको थियो। तत्कालीन एमाले र माओवादीसहितको गठबन्धन सरकारका पालामा उनी माओवादीको कोटाबाट नियुक्त भएका थिए।
उनीमाथि परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन बाहिरबाट स्वतन्त्र विषयविज्ञ ल्याउनुपर्नेमा आफैँ परीक्षा नियन्त्रकको भूमिकामा बसेर प्रश्नपत्र निर्माण गर्ने, परिमार्जन गर्ने, उत्तरपुस्तिका जाँच्ने, कम्प्युटर सीप परीक्षणमा खटिने र अन्तर्वार्ता लिने कार्यमा एकाधिकार जमाएको आरोप थियो।
आयोगको कार्यविधिअनुसार प्रश्नपत्र बनाएबापत प्रतिसेट ३ हजार ६ सयदेखि ५ हजार ४ सय रुपैयाँसम्म, ‘इन–बास्केट एक्सरसाइज’को कच्चा प्रश्नपत्र सेट बनाएबापत एकमुष्ट १२ हजार रुपैयाँ र अन्तर्वार्ता लिएबापत प्रतिशिफ्ट २ हजार ५ सय रुपैयाँ भत्ता आफैँ बुझ्ने गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको थियो।
प्रकाशित: १० कार्तिक २०८३ १८:२३ मंगलबार





