तीन टोली आयोजक रेडियन्ट पब्लिक, स्वर्णिम र इडेन ब्रिज एकेडेमी (इबिए) ले ११औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि उचालेका छन्।
स्युचाटारस्थित घरेलु कोर्टमा बुधबार सम्पन्न प्रतियोगितामा रेडियन्ट सिनियर ब्वाइज, स्वर्णिम सिनियर गर्ल्स र इबिए जुनियर ब्वाइजमा च्याम्पियन भएका हुन्। सिनियर ब्वाइजको फाइनलमा रेडियन्ट पब्लिकले पुष्पसदनलाई ४७–४१ ले पराजित गर्यो। रेडियन्टका सुसनराज न्यौपानेले २२ अंक जोडे। सिनियर गर्ल्सको उपाधि भिडन्तमा स्वर्णिमले आयोजक रेडियन्टलाई २३–१० ले हरायो। स्वर्णिमकी हिसील्हामु लामाले ११ स्कोर गरिन्। जुनियर ब्वाइजको फाइनलमा इबिएले ग्रिनफिल्ड नेसनल स्कुललाई २१–१७ ले हरायो। इबिएका दिगविजय पुरीले ४ अंक बटुले।
सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने, सिनियर गल्र्समा स्वर्णिमकी ओजस्वी बोहरा र जुनियर ब्वाइजमा इबिएका दिग्विजय पुरी मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर ब्वाइजमा आनन्दकुटी, सिनियर गल्र्समा न्यु जेनिथ र जुनियर ब्वाइजमा गोल्डेन फ्लावरले अनुशासित टिमको ट्रफी प्राप्त गरे।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारिप्रकाश सन्जेल, रेडियन्टका अध्यक्ष प्रभाकुमार पौडेल, रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। मंसिर १ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टोली सहभागी थिए।
प्रकाशित: ११ मंसिर २०८२ ०८:३७ बिहीबार





