रेडियन्ट पब्लिकले प्याब्सन अन्तरविद्यालय काठमाडौं जिल्लास्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ।
मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमीको कोर्टमा भएको फाइनलमा रेडियन्टले न्युटनलाई ५६–४३ ले पराजित गर्यो। रेडियन्टका सुप्रित लामिछाने र सुगम रानामगरले समान १६ स्कोर गरे। सुरुका २ क्वार्टरमा रेडियन्टले १४-११ र ९-४ को अग्रता लिएको थियो। तेस्रोमा रेडियन्ट १४-१७ ले पछि पर्यो।
चौथोमा रेडियन्टले १९-११ को अग्रता बनाउँदै जित सुनिश्चित गर्यो। जिल्ला प्याब्सन, काठमाडौंको आयोजना तथा नगर प्याब्सन, तारकेश्वरको संयोजनमा भएको प्रतियोगितामा केभिसी तेसो भयो। केभिसीले टिआइएलाई २८-११ ले हरायो। केभिसीका लागि समर्पण नगरकोटीले ११ अंक जोडे। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।
रेडियन्टका अमोसन मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। प्रतियोगिताभर ६० स्कोर गरेका न्युटनका उज्ज्वल श्रेष्ठ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे।
विजेतालाई केन्द्रीय प्याब्सनका सह-अध्यक्ष गोपाल आचार्य, जिल्ला प्याब्सन, काठमाडौंका अध्यक्ष नवराज भट्ट, जिल्ला प्याब्सन, काठमाडौंका उपाध्यक्ष एवं इसिए विभाग प्रमुख धनबहादुर पुन, नगर प्याब्सन, तारकेश्वरका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
चारदिने प्रतियोगितामा ३६ टिमले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए। लालीगुराँससँगै प्रतियोगिताका खेलहरू एन्जल्स हार्ट र हिमरश्मि स्कुलमा पनि खेलाइएको थियो।
प्रकाशित: २६ मंसिर २०८२ ०७:३० शुक्रबार





