२४ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

पल्सर स्पोटर्स अवार्ड पुस २३ मा

 नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २२औं संस्करण पुस २३ गते पोखरामा आयोजना हुने भएको छ।

गत भदौ २९ गते पोखरामा तय अवार्ड भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रभावित अवार्ड आगामी पुस २३ गते आयोजना गर्ने जनाएको छ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले स्पोटर्स हबको रूपमा रहेको पोखरामा नै अवार्ड आयोजना गर्ने लामो समयदेखिको योजनाअनुरूप सरोकारवालासँग छलफल गरेर पोखरामा नै अवार्ड गर्न लागिएको बताए।

देशको राजनीतिक अवस्था स्थिर नहुनु र अवार्डसँग जोडिएका सरोकारपक्ष पनि तयार नहुँदा अवार्ड आयोजनाको मिति तय गर्न समय लागेको उनको भनाइ छ। साथै उनले अवार्डका लागि सबै तयारी पनि पूरा भइसकेको जानकारी दिए।

स्पोटर्स अवार्डमा यती एयरलाइन्स नयाँ प्रायोजकका रूपमा जोडिएको पत्रकार सम्मेलनमा मञ्चका महासचिव अञ्जन खड्काले बताए। यती एयरलाइन्सले अवार्डमा सहभागी हुने मनोनयनमा पर्न सफल खेलाडी, प्रशिक्षक र अतिथिलाई सेवा प्रदान गर्नेछ।

 आइतबारकै मितिदेखि अवार्डको महत्त्वपूर्ण विधाको रूपमा रहेको पिपल्स च्वाइस अवार्डको रोकिएको डिजिटल वालेट खल्तीबाट भोटिङ प्रक्रिया पनि खुला गरिएको मञ्चले जनाएको छ।

मञ्चका महासचिव खड्काले विगतमा पिपल्स च्वाइसको मनोनयनमा रहेका खेलाडीले जति भोट प्राप्त गरेका थिए त्यहीँबाट भोटिङ प्रकृया फेरि सुरु हुने स्पष्ट पारेका छन्। पिपल्स च्वाइस विधाको प्रतिस्पर्धामा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबल टेनिसकी इभाना थापा छन्।

स्पोटर्स अवार्ड पोखरास्थित पोखरा सभागृहमा हुनेछ। त्यसको अघिल्लो दिन पुस २२ गते पोखरामा एनएसजेएफ स्पोटर्स समिट हुनेछ। मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई चलायमान बनाउन स्पोटर्स समिट हुने र त्यसमा पोखराको पर्यटन र खेलकुद इकोनोमीबारे बहस हुने जानकारी गराए।

अवार्डका अन्य विषयहरू यथावत् रहेको र केही नयाँ कम्पनीसँग सहकार्य भएको छ। गोल्छा ग्रुपसँगको मुख्य प्रायोजकको सम्झौताअनुरुप सहकार्य हुने नै छ। पोखरा महानगरपालिका अवार्ड प्रवर्द्धकको रूपमा रहनेछ। पोखरा महानगरका प्रमुख धनराज आचार्यसँग सहकार्यका लागि लिखित सम्झौता भइसकेको छ। त्यसबाहेक सूर्य नेपाल प्रालि, डिटिजल भोटिङ पार्टनर आइएमई खल्ती डिजिटल वालेट, केल्मी नेपाल, इमेजिड, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, बाग्मती प्रदेश खेलकुद विकास परिषद्, नेपाल पर्यटन बोर्ड र आइएमई हस्पिटालिटी पनि पार्टनरका रूपमा छन्।

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड२०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ। पिपल्स च्वाइस अवार्डसँगै वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड र टिम अफ द इयर छन्। वर्ष खेलाडी पुरुष/महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १४ पुस २०८२ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App