प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ।
टोलीको मुख्य प्रायोजक एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले शनिबार संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन्।
राष्ट्रिय टोलीका सदस्य समेत रहेका मल्लको कप्तानीमा रहेको सुदूरको टोलीलाई यसै सिजन देखि धनगढीस्थित एसपीए कलेजले मुख्य प्रायोजन गरेको थियो। एसपीए कलेजले यसै सिजनदेखि ३ वर्षका लागि प्रदेशको महिला र पुरुष दुवै टोलीको मुख्य प्रायोजन गरेको थियो।
साथै शाहीले प्रदेशको टोलीलाई व्यवसायिक रुपमा अघि बढाउन आफूहरुले गरेको सुरुवातलाई अन्य कर्पोरेट संस्थाहरुसँग पनि जोड्ने प्रयत्न भइरहेको बताए।
अनुभवी र युवा खेलाडीहरु सहित टोली सन्तुलित रहेका बताउँदै शीर्ष चारमा रहने लक्ष्यसहित टोली काठमाडौं जान लागेको कप्तान मल्लले बताए। टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन्।
प्रकाशित: ७ चैत्र २०८२ १५:२२ शनिबार





