प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दशरथ रंगशालामा आयोजित एक विशेष समारोहमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्।
विद्यालय तहबाटै बालबालिकाको चौतर्फी विकासमा सघाउने लक्ष्यसहित यो राष्ट्रव्यापी कार्यक्रम सुरु गरिएको हो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता खेलकुद कार्यक्रमले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य मात्र नभई सामाजिक र नैतिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनले विद्यालय शिक्षामा खेलकुदलाई अनिवार्य अंग बनाउनुपर्नेमा जोड दिँदै सरकार यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा विस्तार गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।
अखिल नेपाल फुटबल संघ (एन्फा) को संयोजन तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमअन्तर्गत देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयमा फुटबल सामग्री वितरण गरिनेछ।
प्रारम्भिक चरणमा ३२,६४० वटा फुटबल बाँडिएको एन्फाले जनाएको छ। यसका साथै, शिक्षक तथा प्रशिक्षकहरूलाई तालिम दिइने र फुटबललाई शिक्षणको माध्यमका रूपमा प्रयोग गरी अनुशासन, सहकार्य र नेतृत्वजस्ता जीवनोपयोगी सीपहरू सिकाइनेछ।
हेर्नुहोस् तस्बिरहरु, सबै तस्बिर: विजय राई/नागरिक




















प्रकाशित: १५ श्रावण २०८२ १५:४१ बिहीबार





