४ भाद्र २०८३ बिहीबार
image/svg+xml
खेल

अन्तिम चरणमा एसियाली खेलकुदको तयारी

एसियाली राष्ट्रहरूका लागि सबैभन्दा ठूलो महोत्सव मानिने एसियाली खेलकुद एक महिनापछि जापानको नागोया शहरमा सुरु हुँदै छ।

यसपटकको एसियाली खेलकुदमा किशोर उमेरका प्रतिभादेखि ओलम्पिकभन्दा पनि बढी खेलाडीको सहभागिता र आँधीको मौसमबीच खेलाडीलाई राखिने क्रुज पानीजहाज सम्मका विशेषता रहनेछन्।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म नागोया र आसपासको आइची क्षेत्रमा हुने एसियाली खेलकुदमा करिब १५ हजार खेलाडी र पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको छ।

फिलिपिन्सकी टेनिस खेलाडी एलेक्जान्ड्रा इआलासहित विश्वस्तरका दुई युवा प्रतिभा १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी र १३ वर्षीया चिनियाँ पौडी खेलाडी यु जिदी पनि सहभागी हुँदैछन्। आयोजकले खेलाडीका लागि क्रुज पानीजहाज, काठका कन्टेनर शैलीका आवासदेखि सामान्य होटलका कोठासम्मको व्यवस्था गरेका छन्।

खेलाडीले यसबाट विशेष अनुभव प्राप्त गर्ने आयोजकको विश्वास छ। आइची/नागोया खेलकुद आयोजक समितिका उपमहासचिव काजुहिरो यागीले एसियाली खेलकुद सुरु हुन लागेको महसुस हुन थालेको बताएका छन्। ‘एसियाली खेलकुदको अन्तिम तयारीको चरणमा हामी प्रवेश गरिसकेका छौं। अन्तिम क्षणसम्म पनि एक भएर काम गर्नेछौं। जापान मात्र होइन एसियाभरका मानिसहरूले प्रतियोगिताको आनन्द लिने आशा गरेका छौं,’ उनले भने।

खर्च कम गर्ने उद्देश्यले आयोजकहरूले खेलाडीका लागि अस्थायी आवासको व्यवस्था गरेका छन्। त्यसअन्तर्गत इटालीको क्रुज पानीजहाज कोस्टा सेरेना भाडामा लिइएको छ। करिब चार हजारदेखि पाँच हजार खेलाडी उक्त पानीजहाजमा बस्नेछन्।

पानीजहाजमा ५७१ वटा क्याबिन, सातवटा पौडी पोखरी, आठवटा रेस्टुरेन्ट तथा नौ वटा बार छन्। जापानमा सामान्यतया सेप्टेम्बर/अक्टोबरमा टाइफुनको मौसम हुने भए पनि यसबाट आवास व्यवस्थामा कुनै असर नपर्नेमा अधिकारीहरू विश्वस्त छन्।

 नागोयाको गार्डेन पियर क्षेत्रमा थप करिब दुई हजार खेलाडी र पदाधिकारी काठबाट बनेका ढुवानी कन्टेनर शैलीका अस्थायी आवासमा बस्नेछन्। बाँकी खेलाडी र पदाधिकारी होटलमा रहनेछन्। केही खेलाडी तथा पदाधिकारी टोकियोमा पनि राखिने तयारी छ। जहाँ पौडी, डाइभिङ र घोडचढीका प्रतियोगिता सञ्चालन हुनेछन्।

‘खेलाडीका लागि आराम गर्ने र अन्य प्रतिस्पर्धीसँग घुलमिल हुने ठाउँ पनि आवश्यक हुन्छ। सबै खेलाडीले आरामदायी रूपमा बस्न र उत्कृष्ट प्रदर्शन गर्न सकुन् भन्ने सुनिश्चित गर्न आवासको तयारी अन्तिम चरणमा पुगेको छ,’यागीले भने।

नागोयामा हुने प्रतियोगिताकी प्रमुख खेलाडीमध्ये इआला पनि एक हुन्। २१ वर्षीया इआला महिला टेनिसमा सफलताको शिखरलाई निरन्तरता दिने लक्ष्यमा हुनेछिन्। विश्व वरीयतामा २०औं स्थानमा रहेकी इआला यसै महिनाको सुरुआतमा वासिङ्टन ओपनको उपाधि जित्दै डब्ल्युटिए उपाधि जित्ने पहिलो फिलिपिन्स खेलाडी बनेकी थिइन्। उनको सफलताले फिलिपिन्समा टेनिसप्रति ठूलो आकर्षण बढाएको छ।

धेरै युवा खेलाडीलाई टेनिसतर्फ आकर्षित गरेको छ। भारतीय क्रिकेटका नयाँ प्रतिभाका रूपमा आफूलाई स्थापित गरेका सूर्यवंशीमाथि पनि सबैको नजर रहनेछ। यी प्रतिभाशाली किशोरले गत महिना इङ्ल्यान्डविरुद्ध टी ट्वान्टी खेलमा डेब्यु गर्दै भारतका लागि खेल्ने सबैभन्दा कम उमेरका क्रिकेटर बनेका थिए।

उनी जापानमा नवनिर्मित क्रिकेट मैदानमा स्वर्ण पदक जित्ने लक्ष्यमा हुनेछन्। पुरुषतर्फ क्रिकेटमा साविक विजेता भारतले फाइनलमा आफ्नो चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्न सक्ने सम्भावना छ। पौडी खेलाडी युले पनि छोटो समयमै उत्कृष्ट प्रगति गर्दै आफ्नो नाम स्थापित गरिसकेकी छन्। उनले गत वर्ष महिलाको २०० मिटर व्यक्तिगत मेड्लेमा एसियाली नयाँ कीर्तिमान बनाएकी थिइन्।

अक्टोबरमा १४ वर्ष पुग्ने यु चिनियाँ टोलीको सदस्य हुनेछिन्। सन् २०२३ मा घरेलु भूमिमा भएको हाङझाउ एसियाली खेलकुदमा पदक तालिकामा दबदबा कायम गरेको चीन यसपटक पनि शीर्ष स्थानमा रहने लक्ष्यमा हुनेछ। हाङझाउमा चीनले कीर्तिमानी २०१ स्वर्ण पदक जितेको थियो। जुन दोस्रो स्थानको जापानको भन्दा झन्डै चार गुणा बढी हो।

एसियाली खेलकुदमा एथलेटिक्स, पौडी र फुटबलजस्ता परम्परागत खेलसँगै कबड्डी, सेपाकताक्रो र उसुजस्ता एसियाका लोकप्रिय खेलहरू पनि समावेश छन्। २०औं संस्करणमा मिक्स मार्सल आटर्स, प्याडेल, टेकबल र भर्चुअल तेक्वान्दोजस्ता नयाँ खेलहरू समावेश छ। हाङझाउमा पहिलोपटक अत्यधिक सफल भएको ई स्पोर्ट्सलाई पनि यसपटक निरन्तरता दिइएको छ।

नागोया आयोजकहरूले वृद्धवृद्धालाई पनि गेम कन्ट्रोलर चलाउँदै मानसिक रूपमा सक्रिय रहन प्रेरित गर्ने आशा गरेका छन्। सन् १९९४ पछि पहिलोपटक जापानमा एसियाली खेलकुद फर्किन लागेको हो। आयोजक समितिका यागीले प्रतियोगिताको वातावरण विस्तारै उत्साहपूर्ण बन्दै गएको बताएका छन्।  

प्रकाशित: ४ भाद्र २०८३ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App