आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा सुरु भएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक बसेको हो।
बैठकमा मन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही, सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठकमा तयारी तथा व्यवस्थापनका विविध पक्षबारे छलफल हुँदैछ।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाडीको सहभागिता, खेल सञ्चालनको योजना र अन्य आवश्यक तयारीका विषय बैठकका मुख्य एजेन्डा रहेका छन्।
कर्णालीमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रदेश तथा केन्द्रस्तरबाट भइरहेका तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहने बताइएको छ।
प्रकाशित: १८ आश्विन २०८३ १४:०० आइतबार





