नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनामा मात्रै सीमित हुन नहुने बताएका छन्। उनले संविधान संशोधनलाई संसद्को अंकगणितभन्दा माथि उठाएर राष्ट्रिय एकता र समग्र अपनत्वको विषय बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शर्माले संविधान संशोधन राष्ट्रिय चिन्तन र साझा सहमतिको विषय बन्नुपर्ने बताए।
‘संविधान संशोधनको विषय सत्ता र प्रतिपक्षको चाहनाको मात्रै विषय बन्नु हुँदैन। संविधान संशोधनको विषय गणितको विषय मात्रै बन्न हुँदैन,’ उनले भने, ‘समग्रको अपनत्व र भावनाको विषय बन्नुपर्छ।’
सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउँदा व्यवस्थित, परिपक्व र संविधानले परिकल्पना गरेको मूल्यांकनका आधारमा अघि बढे कांग्रेसले साथ दिने उनले बताए।
शर्माले संविधान निर्माणका क्रममा सहभागी भए पनि अहिले संसद्मा नरहेका राजनीतिक दल तथा शक्तिहरूलाई समेत समेटेर संशोधनको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरे।
उनले संविधान संशोधन जेनजी आन्दोलनले उठाएका मुद्दा, मधेस आन्दोलनका माग तथा विभिन्न समूह र भूगोलबाट उठेका आवाजलाई संविधान संशोधनका क्रममा समेट्नुपर्ने उनको भनाइ थियो।
‘संविधान संशोधन गर्दा जेनजी आन्दोलनको मर्म र भावना, मधेस आन्दोलन तथा विभिन्न समूह र भूगोलमा उठेका मागलाई पनि सम्बोधन गर्नुपर्छ,’ शर्माले भने।
प्रकाशित: १८ आश्विन २०८३ १७:४० आइतबार





