राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको १५औं महाधिवेशनको मञ्चमा आफू एक्लो प्रतिपक्ष बनेको टिप्पणी गरेका छन्।
आइतबार आयोजित महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सत्तापक्षीय दलहरू उपस्थित मञ्चमा आफू मात्र प्रतिपक्षी दलको नेताका रूपमा उभिएको बताएका हुन्।
सम्बोधनका क्रममा उनले भने, ‘आज यो मञ्चमा प्रतिपक्ष चाहिँ म मात्र भएछु। सरकारको सत्तापक्ष, मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई।’
राजनीतिमा सधैं मीठा कुरा मात्र गरेर नहुने उल्लेख गर्दै उनले देश र जनताको सवालमा दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताए।
‘पार्टीका कुरा होइन, मुलुकको कुरा छ। लोकतन्त्रको कुरा छ। जब मुलुक, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाको कुरा आउँछ, त्यतिखेर पार्टी फरक हुँदैन, झन्डा फरक हुँदैन र नारा पनि फरक हुँदैन,’ लामिछानेले भने, ‘त्यतिबेला एउटै हुन्छ, मुलुक, मुलुक र मुलुक। म त्यही कुरालाई आत्मसात् गर्दै आज यहाँ उभिएको छु।’
प्रकाशित: १८ आश्विन २०८३ १७:४० आइतबार





