मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
बुधबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो घुम्तीमा अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा सुमो चालकसहित १० जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो।
बिहान ९ः२० बजे अस्पताल पुर्याइएका घाइतेमध्ये तीन जनालाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतक २ महिला र १ पुरुष हुन्। अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी भैँसे, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भीमफेदीबाट २७ जना प्रहरी परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसमेत खटिएको थियो।
प्रकाशित: ३ मंसिर २०८३ १०:०० बिहीबार





-600x400.jpg)