आगामी शुक्रबार काभ्रेमा तय एनएनआइपिए स्पोर्ट्स अवार्डको २०औं संस्करणको तयारी पूरा भएको छ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा आगामी चैत २० गते उक्त अवार्ड आयोजना हुँदै छ। पहिलोपल्ट उपत्यकाबाहिर हुन लागेको अवार्ड बनेपा नगरपालिकास्थित चण्डेश्वरी मन्दिरमा सञ्चालन हुनेछ। खेलाडी संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको तयारी पूरा भएको जानकारी दिएको हो।
नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २६ खेल विधाका खेलाडी यस अवार्डमा पुरस्कृत हुँदै छन्। वर्ष २०८१ भर उत्कृष्ट प्रदर्शन गर्ने २६ खेल विधाका समान एक खेलाडी यो अवार्डबाट सम्मानित हुनेछन्। संघका महासचिव शिवसुन्दर गोथेले अवार्डको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै यसपल्ट पनि कार्यक्रम भव्य र व्यवस्थित हुने विश्वास व्यक्त गरे।
यस संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले देशका खेलाडीहरूलाई आफ्नो नगरभित्र स्वागत गर्न उत्साहित रहेको र अवार्ड आयोजनाका लागि तयार रहेको बताए।
अवार्डमा २६ खेलका उत्कृष्टका साथै समान एक महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ। खेलाडी संघले समान १/१ जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व, एक जना पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार र पारा वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गर्नेछ। दुई जना सर्वोत्कृष्ट खेलाडी नगद एक लाख रुपैयाँ, वर्ष महिला र पुरुष प्रतिभाशाली खेलाडी समान ५० हजार, गजराज आदर्श खेल व्यक्तित्व र पत्रकार ३५ हजार तथा पारा खेलाडी १५ हजार नगदसहित सम्मानित हुनेछन्।
सम्बन्धित संघको सिफारिसका आधारमा २६ खेल विधाका खेलाडी सम्मानित हुने परम्परता रहेको छ। उनीहरूलाई भने १५ हजार रुपैयाँसहित सम्मान गरिने भएको छ। फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्दो, कबड्डी, भलिबल, बक्सिङ, जिम्नास्टिक, उसु, जुडो, आर्चरी, ह्यान्डबल, गल्फ, ब्याडमिन्टन, फेन्सिङ, पौडी, ट्रायथलन, कुस्ती, टेबल टेनिस, हक्की, स्की, क्यानोइङ, साइक्लिङ, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन्।
खेलाडी संघले खेलाडीहरूको हकहित, संरक्षण तथा प्रोत्साहनका लागि यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट खेलाडी छनोट गरी सम्मान गर्ने तयारी गरेको जनाएको छ। अवार्ड कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, कलाकारहरूको सहभागिता तथा खेल क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने संघका सचिव मन्डेकाजी श्रेष्ठले जानकारी दिए।
प्रकाशित: १९ चैत्र २०८२ ०८:१६ बिहीबार





