एलभीडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ।
झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता कात्तिक १७ गतेदेखि २४ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ।
यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण दुई दिन पछि सरेको हो।
प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्कीको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ।
अतिथि र विशेष दर्शकलाई तीन सय कुर्सी निर्माण गरिएको छ। १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले बताए ।
खेलमैदान उत्कृष्ट र शानदार बनाइएको छ। उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।
त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपीएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ। झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।
चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते हुनेछ भने अन्तिम सेमिफाइनल कात्तिक २२ गते हुनेछ।
झापा महिला गोल्डकपको उपाधि भिडन्त कात्तिक २४ गते हुनेछ।
गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पुरस्कार जित्नेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिए।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिए।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८२ १८:२१ आइतबार





