१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
खेल

२०औं एसियाली खेलकुद: चोटबाट फर्केकी पुनमको म्याटमा अर्को पीडा

साढे दुई वर्ष लामो चोटको पीडाका कारण जुडो खेलाडी पुनमले पछिल्ला वर्ष धेरै कठिन समय सामना गरिसकेकी थिइन्। आफ्नो एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा चोटका दुई वर्ष उनका लागि धेरै कठिन थिए।

तथापि ती सबै भुलेर नेपालकी जुडोकी पुनम श्रेष्ठ म्याटमा फर्किएकी थिइन्। झन्डै तीन वर्षपछि उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किइन्। २०औं एसियाली खेलकुदजस्तो ठूलो मञ्च पुनमको पुनरागमनको खेलस्थल रह्यो तर उनको पुनरागमन भने यादगार बन्न सकेन। पदकको आशा बोकेर जापान पुगेकी जुडोकी अनुभवी खेलाडी पुनम पहिलो चरणमै बाहिरिन पुगिन्।

भारतीय प्रतिद्वन्द्वी इनुङगाङ्बी टखेललाम्बमसँग उनी सहजै पराजित भइन्। चोटबाट म्याटमा फर्किए पनि उनको पुनरागमनले फेरि हारकै चोट बोक्नुपर्‍यो। पुनमले आइची अन्तर्राष्ट्रिय एरिनामा बुधबार महिला ७० केजीमुनि प्रतिस्पर्धा गरेकी थिइन्। तथापि पुनम इनुङगाङ्बीसँग इप्पोनका आधारमा पराजित भइन्।

उक्त खेल चार मिनेटको हो। तर, १ मिनेट ५४ सेकेन्डमै पुनमको चुनौती समाप्त भयो। पुनमका लागि यो हार सामान्य हार थिएन, सह्य पनि भएन। पराजयलगत्तै उनी लामो समय शान्त भइन्। प्रतिक्रिया दिनै मानिन्। उनमा पीडा स्पष्ट झल्कन्थ्यो। लामो समयदेखि अन्तर्राष्ट्रिय जुडोबाट टाढा रहेकी उनले चोटलाई जितिसकेकी थिइन् तर भारतीय खेलाडीलाई जित्न सकिनन्।

सन् २०२३ पछि पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हारबाट सुरु भयो। देशको आशा पनि समाप्त भयो। एसियाली खेलकुदकै तयारीका क्रममा पनि उनी लामो समय म्याटबाट बाहिर रहिन्।

तर पनि नेपाली जुडोले पदकको आशाका रूपमा हेरेकी खेलाडी हुन् उनी। म्याटमा उत्रिएपछि पुनमले आक्रामक सुरुआत पनि गरिन्। त्यसलाई परिणाममा बदल्न सकिनन्। बरु उनले प्रयोग गरेको टेक्निक (सिइओ नागे) नै भारतीय खेलाडीका लागि निर्णायक अवसर बन्यो। ‘पुनमले राम्रो खेल्ने प्रयास गरिन्। आक्रामक खेलेर राम्रो संकेत पनि दिएकी थिइन्। उनले टेक्निकको प्रयास पनि गरेकी हुन्,’ नेपाली टोलीकी प्रशिक्षक सुनीता मगर ताम्राकारले भनिन्, ‘तर, त्यही टेक्निकमा भारतीय खेलाडीले सफलता पाइन्।’ जुडोमा एक क्षणको गल्तीले खेलको सम्पूर्ण परिणाम बदल्न सक्छ।

पुनमको हकमा पनि त्यही भयो। प्रशिक्षक सुनीताले पनि आफ्नो खेलाडी पुनमले सुरुदेखि नै आक्रामक रणनीति अपनाएको बताइन्। भारतीय खेलाडीमाथि पटकपटक इप्पोनको प्रयास गरिन् तर मणिपुरकी इनुङगाङ्बीले पुनमको चाल पढिन् र त्यसलाई सफल हुन दिइनन्। उल्टै पुनमकै असफल टेक्निकलाई आफ्नो पक्षमा पार्दै खेल चाँडै समाप्त गरिन्। ‘उनी अनुभवी खेलाडी हुन्। जुडोमा एक दुई सेकेन्डमै नतिजा पल्टिन सक्छ। टेक्निक लगाउने क्रममा आफैं पराजित हुनुपर्ने अवस्था आउँछ,’ सुनीताले भनिन्।

अन्ततः २८ वर्षे पुनमको एसियाड यात्रा भने यही पीडामा सकियो। उनी अहिले नेपाली जुडोकी सबैभन्दा अनुभवी खेलाडी हुन्।

उनले १२औं दक्षिण एसियाली खेलकुदमा कांस्य तथा १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीमा रहेकी पुनमकै अनुभव र विगतको सफलताका कारण यसपटक उनीबाट नेपाली जुडोले पदकको अपेक्षा गरेको थियो तर त्यो अपेक्षाको सबैभन्दा ठूलो आधार उनको पछिल्लो अन्तर्राष्ट्रिय प्रदर्शन नभई लामो समयको तयारी थियो।

सन् २०२२ मा चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदपछि पुनम अन्तर्राष्ट्रिय म्याटबाट लगभग टाढै रहिन्। हाङझाउ एसियाडमा पनि उनी पहिलो चरणबाटै बाहिरिएकी थिइन्। त्यही क्रममा लागेको चोटले उनको खेलजीवनमा लामो विश्राम थप्यो।

त्यसपछि पुनमले सन् २०२३ मा किर्गिस्तानमा भएको बिस्केक एसियन ओपन खेलेकी थिइन्। उक्त प्रतियोगितामा कांस्य पदक विजेता हुन् उनी। त्यसयता भने अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको उपस्थिति रहेन।

यसरी तीन वर्षभन्दा बढीको अवधिमा सीमित अन्तर्राष्ट्रिय प्रतिस्पर्धा खेलेकी पुनमलाई फेरि एसियाली खेलकुदको म्याटमा देखिनु नै उनको पुनरागमनको महत्त्वपूर्ण चरण थियो तर त्यसलाई जितमा बदल्ने उनको प्रयास पहिलो खेलमै रोकियो। त्यसमा पनि प्रतिद्वन्द्वी कमजोर थिइनन्। वर्ष २०२६ मा ९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर इनुङगाङ्बी यहाँ आएकी हुन्। साथै उनी विश्व वरीयतामा ४५औं स्थानमा छन्। यो वर्ष मात्रै उनले अन्तर्राष्ट्रिय १६ खेल खेलेकी छन्।

त्यसमा पाँच जित उनको नाममा छ। यसै वर्ष एसियन जुडो च्याम्पियनसिपमा पनि उनले कांस्य पदक जितेकी थिइन्। चोटका कारण लामो समय म्याटबाहिर रहेकी पुनमको विश्व वरीयता थिएन। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लय पनि उनीसँग थिएन। म्याटमा त्यसको प्रभाव देखियो।

लामो समय अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट टाढा रहँदा गुमेको लय र अनुभवी भारतीय खेलाडीको सतर्कताबीच पुनमको प्रयास निर्णायक बन्न सकेन। चार मिनेटको खेलमध्ये आधा समय पनि पूरा नभई उनको एसियाड यात्रा सकियो। ‘मैले सक्दो मिहिनेत गरेकी थिएँ। जित्नका लागि नै खेलेकी थिएँ तर मिहिनेतको नतिजा निकाल्न सकिनँ,’ पुनमले हारपछि दुःख व्यक्त गरिन्।

पुनमका लागि यो हारसँगै नेपाली जुडोको पदकको अर्को आशा पनि समाप्त भयो। जारी एसियाली खेलकुदमा नेपालबाट जुडोमा सात खेलाडी सहभागी छन्। तीमध्ये पाँच विधामा नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ।

बुधबार महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि देवकीमाया श्रेष्ठ तथा पुरुषतर्फ ६६ केजीमुनि विशेष विक र विकास विक पहिलो चरणमै पराजित भएका थिए। पुनम पनि त्यसै सूचीमा थपिइन्। यसअघि नेपाली जुडोले एसियाली खेलकुदबाट पदक जित्न सकेको छैन। यसपटक भने लामो तयारी र अनुभवी खेलाडीको उपस्थितिले पदकको आशा थियो तर प्रतियोगिता सकिन लाग्दा त्यो आशा कमजोर भएको छ।

अब नेपाली जुडोको नजर सुजन गुरुङमा छ। उनले शुक्रबार पुरुष ९० केजीमुनिको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि मिक्स टिमतर्फ पनि नेपालले चुनौती प्रस्तुत गर्नेछ। पुनमको पराजयले खेलाडीलाई पर्याप्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको अवसर कति महत्त्वपूर्ण छ भन्ने प्रस्ट छ। पुनमको कथा त्यसको उदाहरण हो। एक दशकभन्दा बढी समय राष्ट्रिय टोलीमा रहेकी पुनमले खेल जित्न सकिनन्। चोटले लामो समय थला पारे पनि उनले हार मानिनन्। पुनः प्रशिक्षणमा फर्किइन्। एसियाडको तयारी गरिन्। पदक जित्ने लक्ष्य बोकेर जापान आइन् तर म्याटमा फर्किएको पहिलो ठूलो परीक्षा नै उनको पक्षमा रहेन।

प्रकाशित: १६ आश्विन २०८३ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App