नेपाल प्रहरीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा एकपछि अर्को ऐतिहासिक सफलता दिलाएकी एरिका गुरुङलाई सम्मान गरेको छ।
एरिकाले विश्व कराते महासंघको आयोजनामा गत असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। उनै एरिकाले आफ्नै विभागीय टोली नेपाल पुलिसले सम्मान गरेको हो। उनले नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्ने गर्छिन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहले उनलाई सम्मान, बधाई तथा आगामी प्रतियोगिताका लागि समेत शुभकामना दिए।
एरिकाले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेमा ६८ केजी तौलमाथि स्वर्ण जितेकी हुन्। उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई पछाडि पार्दै स्वर्ण जितेकी थिइन्। सेमिफाइनलमा हाकोभालाई ७–० ले हराएकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले निराश पारेकी थिइन्। कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी पनि हुन्। उक्त कार्यक्रममा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेल्ने खेलाडीको पनि बिदाइ गरेको थियो।
विश्व कराते महासंघको क्यालेन्डरअनुसार असोज ३१ देखि कात्तिक २ सम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पियनसिप छनोट चरणमा सहभागिता जनाउने खेलाडीलाई बिदाइ गरिएको हो।
उक्त प्रतियोगितामा स्वनिम मानन्धर र सविना श्रेष्ठले खेल्नेछन्। सविनाले महिला ५५ केजीमुनि र स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता तथा नेपाली राष्ट्रिय टिमका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए।
प्रकाशित: २५ आश्विन २०८२ ०६:२४ शनिबार





