२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

भुर्तेलको विस्फोटक ब्याटिङका बीच पोखरालाई लगातार झड्का, सन्दीपले एकै ओभरमा लिए दुई विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सुरुवाती आक्रामक ब्याटिङका बाबजुद लगातार विकेट गुमाएर संकटमा परेको छ।

कप्तान कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरिरहँदा अर्को छेउबाट विकेट पतन हुँदा पोखरा दबाबमा आएको हो।

विशेषगरी, विराटनगरका कप्तान सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर खेललाई आफ्नो पक्षमा पारेका छन्।

विशाल लक्ष्यको जवाफमा पोखराले आक्रामक सुरुवात गरेको थियो। कप्तान कुशल भुर्तेल र एडम रोसिङ्टनले तीव्र गतिमा रन जोड्दै टोलीलाई राम्रो स्थितिमा पुर्याएका थिए।

भुर्तेलले मात्र १८ बलमा ५ छक्का र ३ चौकासहित ४४ रन बनाएका छन् भने रोसिङ्टनले २१ बलमा ३९ रनको महत्वपूर्ण योगदान दिए।

सन्दीप चम्किँदा पोखरा संकटमा

सातौं ओभरमा रोसिङ्टनको विकेट गुमेपछि पोखराको इनिङ्स धर्मरायो। त्यसपछिको आठौं ओभरमा बलिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले खेलको नक्सा नै परिवर्तन गरिदिए।

सन्दीपले आफ्नो पहिलो ओभरको दोस्रो बलमा ब्याट्सम्यान जेम्स नीशमलाई शून्य रनमा पेभेलियन फर्काए। लगत्तै, सोही ओभरको चौथो बलमा उनले त्रित राज दासलाई पनि शून्य रनमै आउट गर्दै पोखरालाई ठूलो झड्का दिए।

एक रनको अन्तरालमा तीन महत्वपूर्ण विकेट गुमाएपछि राम्रो अवस्थामा रहेको पोखरा ८९/४ को नाजुक स्थितिमा पुगेको छ।

समाचार तयार पार्दासम्म पोखराले ८.३ ओभरमा ४ विकेट गुमाएर ९५ रन बनाएको छ। कप्तान कुशल भुर्तेल ४४ रनमा र किरण ठगुन्ना २ रनमा अविजित छन्।

पोखरालाई जितका लागि अब ६९ बलमा १२६ रन आवश्यक छ। उसका महत्वपूर्ण ब्याट्सम्यानहरू आउट भइसकेका छन्। भुर्तेल क्रिजमा रहँदासम्म पोखराको आशा जीवितै रहे पनि लगातार गुमेका विकेटले टोलीलाई ठूलो दबाबमा पारेको छ।

प्रकाशित: २ मंसिर २०८२ १८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App