२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

नेपाल एथलेटिक्स च्याम्पियनसिपमा नियम परिवर्तन, खेलाडीमाथि अन्याय भएको पोडी संघको आरोप

नेपाल पोडी संघले तेस्रो नेपाल एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना खेलाडीमाथि अन्याय भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको निर्णयप्रति आपत्ति जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगिताको प्रारम्भिक सूचनाअनुसार खेलाडी छनोट तथा तयारी गरिएको भए पनि प्रतियोगिताको अन्तिम चरणमा पुग्दा खेलका नियम तथा मापदण्ड परिवर्तन गरिएको आरोप लगाएको हो।

संघका अनुसार च्याम्पियनसिपअघि जारी गरिएको सूचनामा ८०० मिटर दौडका शीर्ष आठ खेलाडी फाइनलमा पुग्ने उल्लेख गरिएको थियो। सोही आधारमा खेलाडीलाई तयारी गराइएको भए पनि प्रतियोगिता सञ्चालनका क्रममा उक्त नियम परिवर्तन गरी फाइनलमा सहभागी हुने खेलाडीको संख्या घटाइएको जनाइएको छ।

नेपाल पोडी संघले राखेप र नेपाल एथलेटिक्स संघले प्रतियोगिता चलिरहेकै बेला नियम परिवर्तन गरेर खेलाडीमाथि अन्याय गरेको दाबी गरेको छ। संघका पदाधिकारीहरूले खेलकुदमा निष्पक्षता र पारदर्शिता हुनुपर्नेमा जोड दिँदै प्रतियोगिता सञ्चालनका क्रममा नियम परिवर्तन गर्नु खेलभावना विपरीत भएको बताएका छन्।

संघले अन्तिम सातामा प्रकाशित सहभागी खेलाडीको नामावली र प्रतियोगिताका क्रममा अपनाइएका मापदण्डबीच पनि भिन्नता देखिएको जनाएको छ। यसले खेलाडी तथा प्रशिक्षकहरूलाई अन्योलमा पारेको र प्रतियोगिताको विश्वसनीयतामाथि प्रश्न उठाएको संघको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै संघका प्रतिनिधिहरूले खेलाडीलाई नियमविपरीत ढंगले प्रतिस्पर्धाबाट बाहिर राखिएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनीहरूले दोषीमाथि आवश्यक कारबाही तथा पीडित खेलाडीलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

नेपाल पोडी संघले खेलकुद क्षेत्रको सुशासन, पारदर्शिता र नियमको सम्मान कायम राख्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न समेत अनुरोध गरेको छ। साथै, खेलाडीको भविष्य र खेलको गरिमामाथि असर पर्ने निर्णयहरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

संघले आफ्ना आवाज सुनुवाइ गर्न र घटनाको निष्पक्ष छानबिनका लागि खेलकुद समुदाय तथा सरोकारवाला निकायको सहयोग अपेक्षा गरेको जनाएको छ।

प्रकाशित: २ असार २०८३ १८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App