हेमन्त धामीले धारिलो बलिङ गरेपछि पुरुष पिएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।
वीरगञ्जमा भएको खेलमा कर्णालीले दिएको १२० रनको मध्यम लक्ष्य सुदूरले २९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। उसको जितमा किरण ठगुन्नाले सर्वाधिक २६ र खडक बोहोराले २३ रन बनाए। कर्णालीका बलरले २५ रन अतिरिक्त दिएका थिए।
कर्णालीका लागि अनुज चनारा र दिवान पुनले समान २ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा अलआउट हुँदै ११९ रन बनाएको थियो। चार ब्याट्सम्यानले खातै खोल्न नपाएको कर्णालीको इनिङ्समा विपिन रावलले ३३ र सुनिल धमलाले २८ रन बनाएका थिए। सुदूरका बलरले २२ रन अतिरिक्त फ्यालेका थिए।
कर्णालीको इनिङ्स ध्वस्त बनाउने क्रममा हेमन्त धामीले ६ विकेट लिए। मात्र ७ ओभर बलिङ गरेका उनले एक मेडन फ्याल्दै १६ रनमात्र खर्चिए। शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहोराले समान एक विकेट लिए।
प्रकाशित: ९ चैत्र २०८२ १६:४७ सोमबार





