जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशमाथि ४५ रनको जित निकालेको छ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो।
एपीएफका लागि मध्यक्रमका ब्याटर सन्दीप जोराले सर्वाधिक ५५ रनको योगदान दिए।
४५ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे। ओपनर आसिफ शेख १ रनमै आउट हुँदा कप्तान रोहितकुमार पौडेल ११ रन जोड्दै पेभिलियन फर्किए।
एपीएफको रन गति रोक्ने क्रममा सुदूरपश्चिमका शेर मल्लले ३ विकेट लिए भने विकास आग्री र अशोक धामीले समान २-२ विकेट हात पारे।
एपीएफले दिएको २६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर अलआउट भएको छ। सुदूरपश्चिमका लागि अशोक धामीले अर्धशतकीय इनिङ खेलेका छन्। ४३ बलको सामना गरेका उनले टोलीका लागि ५० रन बनाए।
सुदूरपश्चिमको ब्याटिङ लाइनअप ध्वस्त पार्न एपीएफका युवराज खत्रीले घातक बलिङ गर्दै एक्लैले ५ विकेट लिए।
प्रकाशित: २३ चैत्र २०८२ १७:०७ सोमबार





