प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा शुक्रबार मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले तथा सुदूरले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेका हुन्।
जनकपुरमा भएको खेलमा मधेशले दिएको १२५ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी २६ ओभरमा ९९ रनमा अलआउट भयो। ४ जना डकआउट भएको लुम्बिनीको इनिङ्समा सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाए।
मधेशका लागि विशाल पटेलले ५ विकेट लिए। प्रदिप पासवानले २ विकेट लिँदा रुपेश सिंह, आदिल आलम र आशिक बैठाको नाममा समान एक विकेट रह्यो।
यसअघि पहिला ब्याटिङ गरेको मधेश पनि ३८.१ ओभरमा १२४ रनमा अलआउट भएको थियो। सात जना ब्याटरले दोहोरो अंकको स्कोर गर्न नसकेको मधेशको इनिङ्समा मयन यादवले ३१ रन बनाए।
लुम्बिनीका लागि सन्देश थापा र सन्तोष यादवले समान तीन, अजय चौहानले २ र निर्मल गुरुङले एक विकेट लिए।
वीरगन्जमा भएको अर्को खेलमा कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरले मात्र १९.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसको जितमा खडक बोहोराले सर्वाधिक ६६ रन बनाए। किरण ठगुन्ना २५ रनमा नटआउट रहे।
विपिन महतोले २ विकेट झारे ।
यसअघि पहिला ब्याटिङ गरेको कोशी ४३.४ ओभरमा १३० रनमा अलआउट भयो। उसका लागि शीवास बजगाइँले २५ र सुमन श्रेष्ठले २४ रन बनाए।
हेमन्त धामीले ४ विकेट लिँदा किरण ठगुन्नाले २ विकेट झारे ।
जितपछि मधेश ३ खेलमा ५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सुदूर तेस्रो खेलमा दोस्रो जितसहित ४ अंकमा छ। कोशीको चार खेलमा एक अंकमात्र छ भने लुम्बिनीको भने तीन खेलमा ३ अंक छ।
प्रकाशित: १३ चैत्र २०८२ १९:०७ शुक्रबार





