नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू करिब दुई वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्किंदा धेरै उत्साहित भएका छन्।
नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। हाल नेपाली राष्ट्रिय पुरुष टोली अन्तिम तयारीमा छ। दशरथ रंगशालामा अस्ट्रेलियन प्रशिक्षक म्याट रसको प्रशिक्षणमा खेलाडीहरूले तयारी गरिरहेका छन्। केही सिनियर र युवा खेलाडीलाई समेट्दै प्रशिक्षक म्याट बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्यमा छन्।
दक्षिण एसियाली राष्ट्र बंगलादेश नेपालका लागि नयाँ प्रतिद्वन्द्वी होइन। दुवै टोली समान स्तरका हुन्। तर, पछिल्लो समय बंगलादेशले फुटबलमा धेरै विकास गरिरहेको छ। नियमित फुटबलले गर्दा बंगलादेशको फुटबलले उचाइ लिँदै छ। त्यसैले आगामी सेप्टेम्बर ६ र ९ तारिखमा हुने खेल नेपालका लागि सहज हुने छैन।
आँकडा हेर्ने हो भने नेपाल र बंगलादेशबीच कुल १३ खेल भएका छन्। यसमा दुवै टोलीले समान चार खेल जितेका छन् भने पाँच खेलका नतिजा बराबरीमा नै टुङ्गिएका छन्। पछिल्लोपल्ट सन् २०२२ को सेप्टेम्बरमा नेपालले बंगलादेशलाई ३–१ ले हराएको थियो। त्यसयता भने दुई टोलीबीच प्रतिस्पर्धा हुन सकेको छैन। यसपल्ट पनि त्यो नतिजा जारी राख्ने लक्ष्यमा नेपाली टोली हुनेछ।
नेपाली टोलीका सिनियर खेलाडी अञ्जन विष्टले फिट नहुँदा आफूले खेल्न नपाएको र त्यसमा पनि दशरथ रंगशालामा लामो समयपछि खेल्न पाउँदा धेरै उत्साहित रहेको बताए। ‘केही समय फिट थिइनँ। त्यसमा पनि रंगशालामा लामो समयसम्म फुटबल भएन। त्यसैले यहाँ खेल्न पाउँदा धेरै उत्साहित छु,’ उनले भने।
उनले आफ्नो उत्कृष्ट खेल दिने लक्ष्यसहित प्रशिक्षण गरिरहेको पनि उल्लेख गरे। ‘म उत्कृष्ट दिने प्रयास गर्छु। गोल नगरेको धेरै समय भएको छ। यही मैत्रीपूर्ण खेल नै सही समय हुन सक्छ,’ उनले भने। नेपालमा नियमित फुटबल नहुँदा फुटबलरलाई समस्या भैरहेको र राष्ट्रिय टोलीमा पनि समस्या भएको उनले गुनासो गरे। यसले गर्दा नै फुटबलरहरू पलायन भइरहेको उनले बताए।
राष्ट्रिय टोलीमा आएका नयाँ खेलाडीले पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिएको र त्यसमा प्रशिक्षक म्याट रसले पनि धेरै मिहिनेत गरेको उल्लेख गरेका छन्। ‘विराज दाइ (महर्जन) को बिदाइ गर्दा हामीले सुखद नतिजा ल्याएका थियौं। यसपल्ट फुटबलर भरत दाइ (खवास) को अन्तिम अन्तर्राष्ट्रिय फुटबल हो। यसलाई यादगार बनाउने लक्ष्य छ,’ उनले भने।
२०८० साल मंसिर १ पछि नेपालको सिनियर पुरुष टोलीले यो मैदानमा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो। रंगशाला असुरक्षित भएको भन्दै यस मैदानमा फिफाका अधिकारिक प्रतियोगिताहरू हुन सकेका छैनन्। एएफसीले खेल्न अनुमति नदिँदा नेपाली समर्थकले घरेलु मैदानमा राष्ट्रिय पुरुष टोलीको खेल हेर्न नपाएको झन्डै दुई वर्ष बितिसकेको छ।
नेपाली टोलीका खेलाडीहरू पनि दशरथ रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा झन् उत्साहित छन्। नेपाली टोलीमा पहिलोपल्ट स्थान बनाएका आदित्य शाक्यले पनि दशरथ रंगशालामा फुटबल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्।
यो मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली बुधबार नेपाल आउनेछ। बंगलादेशको टोलीबाट इङ्लिस फुटबलका स्टार हेम्जा चौधरी पनि आउन चर्चा भइरहेको छ। नेपाली समर्थक पनि उनको प्रतीक्षामा छन्। समर्थकको आशाअनुरूप धेरै मिहिनेत गरेर छुट्टै जोस र जाँगरका साथ खेल्ने आदित्य बताउँछन्।
आफ्ना बुबा र काका फुटबल नै खेलिरहेकाले आफू राष्ट्रिय टोलीमा पर्दा उहाँ धेरै खुसी भएको उनले स्मरण गरे। सिनियर खेलाडीबाट आफूले धेरै हौसला पाएकाले पनि आत्मविश्वास बढेको उनी बताउँछन्। राष्ट्रिय टोलीमा परेपछि सबैथोक पाएँ भन्न नसोच्ने अझ मिहिनेत गरेर अगाडि बढ्ने उनको लक्ष्य छ।
यो मैत्रीपूर्ण खेलका लागि एन्फाले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली घोषणा पनि गरिसकेको छ। नेपाली टोलीमा समीर तामाङले पुनरागमन गरेका छन्। गत मार्चमा फिफा विश्वकप छनोटमा उनले बहराइनविरुद्ध खेलबाट डेब्यु गरेका थिए। त्यसयता उनी टोलीबाट बाहिर थिए।
नेपाली टोलीका अन्य सदस्यमा रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक विष्ट, दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रणदीप पौडेल, रोहन कार्की, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ छन्।
दुई मैत्रीपूर्ण खेल फ्लड लाइटमा साँझ ५ः३० बजेदेखि सञ्चालन हुनेछन्। दुवै खेलको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहनेछ। यद्यपि, अनलाइन बिक्रीका लागि टेन्डर खुलाइने एन्फाले उल्लेख गरेको छ। भिआइपीमा एक हजार र सामान्य पारापिटमा पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको एन्फाले उल्लेख गरेको छ।
प्रकाशित: १८ भाद्र २०८२ ०७:०९ बुधबार





