प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत शुक्रबार भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो। शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाइजले एकतर्फी ४ गोल हान्यो।
प्लानिङ ब्वाइजका लागि पापा आईबाउले केबेले ह्याट्रिक गोल गरे भने एलेक्स विलियनले एक गोल गरे। कमजोर फ्रेण्ड्सविरुद्ध प्लानिङ ब्वाइजले २४ औं मिनेटमा खाता खोलेको थियो। उसका लागि विलियनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो गोलपछि फ्रेण्ड्सविरुद्ध थप हाबी भएको प्लानिङ ब्वाइजका लागि पहिलो हाफको अन्तिम मिनेटमा केबेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
पहिलो हाफमा दुई गोल गरेको प्लानिङ ब्वाइजले दोस्रो हाफमा पनि थप दुई गोल गर्यो। प्लानिङ ब्वाइजका लागि केबेले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि भने तेस्रो गोल गर्दै अग्रता तेब्बर पारे। त्यतिमा नरोकिएका केबेले खेलको ८१ औं मिनेटमा टिमका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरे। यो प्रतियोगिताकै पहिलो ह्याट्रिक गोल हो।
खेलमा प्लानिङ ब्वाइजका लागि ह्याट्रिक गोलकर्ता केबे प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगितामा शनिबारदेखि क्वाटरफाइनलका खेलहरू सञ्चालन हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ। क्वाटरफाइनलको पहिलो खेलमा शनिबार आयोजक सहारा क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
खेल अपराह्न ३ बजेदेखि सुरु हुने उनले बताए। 'फ्लड लाईटमा खेल्दा समस्या आएपछि खेलको समय तालिका परिवर्तन भएको छ,' उनले भने, ‘अब हरेक दिन अपराह्न ३ बजेदेखि नै खेल सञ्चालन हुनेछ।’
प्रकाशित: १ फाल्गुन २०८२ १९:०३ शुक्रबार



-600x400.jpg)

