पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इङ्ल्यान्ड भ्रमणका क्रममा आफ्नो टोलीभित्र देखिएको उथलपुथलबिच ‘अनुशासन र आचरण’ सम्बन्धमा छानबिन सुरु गरेको छ।
तीन खेलको टेस्ट सिरिजमा २-० ले पछाडि परिसकेको पाकिस्तानले शृंखलाको बिचमा नै गत साता ७ खेलाडीलाई स्वदेश फर्काएको हो। ती खेलाडीको स्थानमा थप सात खेलाडीलाई टोलीमा बोलाएपछि विवाद उग्र बन्न पुग्यो। साथै मुख्य प्रशिक्षक सरफराज अहमदलाई हटाउँदै उनको स्थानमा न्युजिल्यान्डका माइक हेसनलाई जिम्मेवारी दिइएपछि घटनाले अर्को मोड लियो।
लर्ड्समा भएको दोस्रो टेस्टका क्रममा पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा क्रिकेट टोलीका पूर्वकप्तान इमरान खानसम्बन्धी अन्तर्वार्ता प्रसारण भएपछि पाकिस्तानको भ्रमण बिचमा नै रद्द गर्नेसम्म चेतावनी दिएको थियो। इमरान हाल जेलमा छन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै आन्तरिक अनुशासनको छानबिन सुरु गरेको जनाएको छ।
‘अनुशासन र आचरणसँग सम्बन्धित सञ्चारमाध्यममा आएका रिपोर्टहरूलाई लिएर बोर्डले आन्तरिक अनुशासनात्मक छानबिन सुरु गरेको छ। हाल आन्तरिक रूपमा समीक्षा भइरहेका छन्,’ पिसिबीले भनेको छ, ‘पिसिबीले यस्ता विषयलाई आफ्नो नियमित प्रक्रियाअनुसार सम्बोधन गर्छ। नियमनअनुसार प्रक्रिया अघि बढाइएको छ। यस क्रममा सम्बन्धित सबै व्यक्तिलाई उचित रूपमा विचार गर्ने सुनिश्चित गरिएको छ।’
उक्त विज्ञप्तिमा ‘शत्रुतापूर्ण बाह्य स्रोत’ बाट आएका ‘अनुमानमा आधारित रिपोर्ट’ देशविरुद्ध बनाइएको उल्लेख छ। गत साता प्रशिक्षक हेसनले सातमध्ये एक खेलाडी सलमान अली आघाले क्लेरेन्स हाउसमा राजा चाल्र्ससँग हुने भेटमा सहभागी हुन अस्वीकार गरेको भन्ने रिपोर्टबारे प्रतिक्रिया दिएका थिए। पाकिस्तान टोली चाल्र्ससँग भेट्न जाने क्रममा क्लेरेन्स हाउस बाहिर इमरान खानका समर्थक सरकार विरोध ब्यानरसहित उभिएका थिए। उनीहरूले मानव अधिकार हनन भएको र इमरानमाथि झुटा मुद्दा लगाइएको जस्ता ब्यानर देखाएका थिए।
हेसनले मोहम्मद इमरान र मोहम्मद इमरान जुनियर दुवैलाई प्रतिस्थापन खेलाडीका रूपमा टोलीमा बोलाइनुको कारण पिसिबी उनीहरूको नामलाई लिएर अलमलमा परेको भन्ने दाबीलाई पनि अस्वीकार गरेको थियो। ‘कुनै पनि अनुमानमा आधारित रिपोर्ट वा अप्रमाणित दाबी विशेषगरी शत्रुतापूर्ण बाह्य स्रोतबाट आएका सामग्रीलाई विश्वसनीय मान्नु हुँदैन,’ विज्ञप्तिमा थप भनिएको छ,‘बोर्डले यस विषयमा अहिले थप टिप्पणी गर्ने छैन। सरोकारवालाहरू र सर्वसाधारणलाई आधिकारिक पिसिबीबाट प्राप्त सूचनामै भर पर्न आग्रह गर्दछ।’ गत साता हेसनले पाकिस्तानले आफ्नो प्रारम्भिक भ्रमण टोलीबाट सात खेलाडीलाई हटाउने निर्णय कसरी भएको थियो भन्नेबारे भने स्पष्ट पारेका थिए।
अन्तिम टेस्टका लागि हेसनलाई जिम्मेवारी दिइएपछि पाकिस्तानको बलिङ आक्रमणमा चार परिवर्तन गरिएको थियो। तर हेसन जिम्मेवारीमा आउनुअघि नै तीन अनुभवी खेलाडी टोलीबाट हटाइए। ती खेलाडीमा सलमान, अर्का ब्याटर इमाम उल हक र विकेटकिपर मोहम्मद रिजवान थिए। लर्ड्समा भएको दोस्रो टेस्टमा इमामले चोटका कारण दुवै इनिङमा ब्याटिङ नगरेपछि उनी आलोचनामा परे। हेसन मुख्य प्रशिक्षक बनेसँगै अस्ट्रेलियाका एस्ले नफ्केलाई पनि टोलीको प्रशिक्षण समूहमा समावेश गरिएको छ।
उनले तीव्र गतिका बलिङ प्रशिक्षक उमर गुलको स्थान लिएका हुन्। बुधबारदेखि सुरु हुने अन्तिम टेस्टको तयारीका क्रममा सोमबार एजबास्टनमा बोल्दै प्रशिक्षक नफ्केले आफूलाई छानबिनसम्बन्धी कुनै विवरण थाहा नभएको बताए। ‘मलाई यसबारे धेरै जानकारी छैन। म निर्णय लिने प्रक्रियाभन्दा बाहिर छु। त्यो हामी प्रशिक्षकभन्दा माथिको विषय हो,’ उनले भने,‘पाकिस्तानमा केही समय प्रशिक्षकका रूपमा काम गरेपछि झन्डै १५ महिनासम्म सेतो बलको टोलीसँग काम गर्दा मैले एउटा कुरा सिकेको छु, त्यो हो पृष्ठभूमिमा सधैं केही न केही भइरहेको हुन्छ।’ उनले त्यो आफ्नो नियन्त्रणबाहिरको कुरा रहेको उल्लेख गरे। एजेन्सी
प्रकाशित: २३ भाद्र २०८३ ११:१४ मंगलबार





