नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विश्व क्रिकेटका स्टार खेलाडी भित्रिँदा उत्साहित समर्थकका लागि पीडादायी क्षण बन्न सक्ने भएको छ। टेस्ट राष्ट्र दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, पाकिस्तान र श्रीलंकाका स्टार क्रिकेटरले सोमबारदेखि सुरु हुने एनपिएलको यस संस्करण खेल्दै छन्।
नेपालको व्यावसायिक क्रिकेटमा विश्व चर्चित क्रिकेटरले खेल्ने भएपछि नेपालका क्रिकेट समर्थक धेरै उत्साहित छन्। उनीहरू आफ्ना मन पर्ने क्रिकेटरलाई नेपालको क्रिकेट मैदानमा हेर्न लालायित देखिन्छन्। तथापि पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेपछि नेपाली क्रिकेटका लागि दुखद क्षण बन्न सक्ने भएको छ। अन्य देशको व्यावसायिक खेल खेल्न खेलाडीले आफ्नो देशको संघबाट नो अब्जेक्सन लेटर (एनओसी) लिनुपर्ने प्रावधान छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अन्य देशको व्यावसायिक क्रिकेट खेल्नबाट आफ्ना खेलाडीलाई रोक लगाएको अवस्था छ। अफगानिस्तानले भने तीन देशको लिग खेल्न मात्र अनुमति दिन्छ। केही देशले शुल्क लिएर खेल्न अनुमति दिँदै आएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले पनि यही नियम लागु गर्दै आएको छ।
पिसिबीले एनपिएलमा सहभागी हुन आवश्यक एनओसी जारी गर्ने प्रक्रिया रोकेपछि नेपाली समर्थकले पाकिस्तानका स्टार क्रिकेटरले खेलेको हेर्न अभैm कुर्नुपर्ने हुन सक्छ। केही पाकिस्तानी खेलाडी एनओसीसहित नेपाल आइसकेको अवस्थामा पिसिबीले उक्त निर्णय गरेको पनि चर्चा भइरहेको छ।
यो निर्णय हुनुको कारण नेपाल क्रिकेट संघ (क्यान) सँग पिसिबीको खराब सम्बन्ध र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) सँग नेपालको निकटता हुन सक्ने अनुमान गरिएको छ। किनकी नेपालजस्तै अन्य एसोसिएट राष्ट्रका फ्रेन्चाइज लिगमा पाकिस्तानी खेलाडी खेल्दा भने पिसिबीले यो शुल्क तिर्नुपर्ने प्रावधान राखेको छैन।
साथै पिसिबीले एनओसी दिएपछि ४८ घण्टाभित्र प्रतिखेलाडी २५ हजार डलर तिर्न पत्राचार गरेपछि क्यानसँग पाकिस्तान क्रिकेटको खराब सम्बन्ध स्पष्ट हुन्छ। यसले तेस्रो संस्करणको आयोजनामा नै धक्का लागेको छ। यद्यपि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालले सबै देशका क्रिकेट संघसँग राम्रो र बराबरको सम्बन्ध राखेको बताए। पाकिस्तानी खेलाडी सहभागी हुने उनको विश्वास छ तर क्यानका एक पदाधिकारीले भने पाकिस्तानी खेलाडीको एनओसी रोकिएको र उनीहरूले खेल्न नसक्ने बताएका छन्।
यसअघि एनओसी पाइसकेका केही खेलाडीलाई समेत उनीहरूको अनुमति तत्कालका लागि रोकिएको उनको भनाइ छ। पाकिस्तानको टी ट्वान्टी क्रिकेटका कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन्। अन्य केही खेलाडी आउन बाँकी छ। यो समस्या समाधान नभएसम्म उनीहरू नेपाल आउने यात्रा स्थगित गरेका छन्।
पिसिबीले प्रत्येक खेलाडीका लागि २५ हजार अमेरिकी डलर शुल्क मागेको दाबी पनि सार्वजनिक भएको छ। यो रकम प्रतिखेलाडी करिब ३४ लाख नेपाली रुपैयाँ हुन आउँछ। यो शुल्क तिरेर पाकिस्तानी खेलाडी खेलाउन सक्ने अवस्थामा नेपाली क्रिकेट पुगिसकेको छैन। नियम लागु भए पाकिस्तानी खेलाडी नखेल्ने स्पष्ट छ।
यद्यपि पिसिबीले औपचारिक रूपमा यस्तो शुल्क मागेको हो वा होइन भन्ने स्वतन्त्र पुष्टि भएको छैन। एनओसी रोक्नुको कारण यही शुल्क हो वा अन्य कुनै विषय, त्यो पनि स्पष्ट भइसकेको छैन। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि पिसिबीका अध्यक्ष मोहसिन नक्भीसँग कुराकानी हुन नसकेको बताएका छन्।
नक्भी पिसिबीका अध्यक्षसँगै एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष र पाकिस्तानका गृहमन्त्रीसमेत रहेकाले व्यस्त रहेको चन्दको भनाइ छ। उनले पिसिबीका प्रमुख कार्यकारी अधिकृत सलमान नासिरसँग कुराकानीका लागि प्रयास भइरहेको तर सम्पर्क हुन नसकेको बताएका छन्।
‘पिसिबीका अध्यक्ष मोहसिन नक्भी एसियन क्रिकेट काउन्सिल (एसिसी) र पाकिस्तानका गृहमन्त्री हुनुहुन्छ। उहाँ व्यस्त हुनुहुन्छ। त्यसैले उहाँसँग कुराकानी हुन पाएन। पाकिस्तानको क्रिकेट पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का सिइओसँग केन्द्रित छ। सिइओका सलमान नासिरसँग कुराकानीका लागि प्रयास गरिरहेको छु तर उहाँसँग सम्पर्क हुन सकेको छैन,’ नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चन्दले भने।
एनपिएलमा पाकिस्तानका टी ट्वान्टी कप्तान साहिबजादा र तलतसहित हैदर अली, हुनैन शाह, इफ्तिखार अहमद, हसन अली र उसामा मिर सहभागी हुने सूचीमा छन्। उनीहरू सहभागी नहुँदा केही फ्रेन्चाइज टोलीले ठुलो क्षतिसमेत बेहोर्नुपर्ने हुन्छ।
सोमबारदेखि नोभेम्बर २१ सम्म काठमाडौंमा सञ्चालन हुँदै छ। क्यानका सचिव पारस खड्काले यसअघि सबै पाकिस्तानी खेलाडी एनओसी लिएर आउने विश्वास व्यक्त गरेका थिए तर एनओसीबिना खेलाडीले प्रतियोगिता खेल्न नपाउने उनले स्पष्ट पारेका थिए। एनओसी जारी गर्ने निर्णय सम्बन्धित क्रिकेट बोर्डकै अधिकार भएकाले यसमा क्यानले प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने उनको भनाइ थियो। पिसिबीले यस विषयमा तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकाको मेजर लिग क्रिकेट (एमएलसी) मा पनि पाकिस्तानी खेलाडीको एनओसीका लागि प्रतिखेलाडी २५ हजार डलर मागिएको आरोप सार्वजनिक भएको थियो।
त्यतिबेला सानफ्रान्सिस्को युनिकन्र्सले हरिस राउफका लागि उक्त रकम तिरेको बताइएको थियो। यद्यपि एनपिएलमा पनि उही शुल्क मागिएको दाबी पुष्टि हुन बाँकी छ। पाकिस्तानी खेलाडीको सहभागितामा देखिएको अन्योलले एनपिएल सुरु हुनुअघि नै प्रतियोगिता व्यवस्थापनमाथि दबाब बढाएको छ।
अब पिसिबीले एनओसी जारी गर्छ वा गर्दैन र त्यसको निर्णय समयमै हुन्छ कि हुँदैन भन्ने कुराले एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता निर्धारण गर्ने छ। पछिल्ला समय नेपाल क्रिकेट संघ (क्यान) र पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) सँग सम्बन्ध राम्रो छैन। नक्भी एसियन क्रिकेट काउन्सिल (एसिसी) का अध्यक्ष पनि हुन्।
विश्व क्रिकेटमा सदैव पाकिस्तान र भारतबिच तनावको अवस्था रहँदै आएको छ। यी देशबिच क्रिकेट शृंखलामा पनि हुँदैनन्। भारतीय र पाकिस्तानी खेलाडीले एकअर्कासँग हात नै नमिलिएको घटना पनि सार्वजनिक हुन्छन्। एसिसीका अध्यक्ष नक्भीबाट भारतीय खेलाडीले विजेताबापत पुरस्कार नै अस्वीकार गर्दै आएका छन्। यस्तो स्थितिमा नेपाल भने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को नजिक मानिन्छ। त्यसैले पनि पाकिस्तानले नेपाल प्रिमियर लिग आयोजनामा क्यानलाई सहयोग नगर्न सक्छ।
प्रकाशित: ९ कार्तिक २०८३ ०६:५३ सोमबार





