९ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

विश्वस्टारको आगमनले चम्कँदै एनपिएल, पारदर्शितामा परीक्षा

कुल तीन करोडको पुरस्कार, विश्व क्रिकेटका चर्चित खेलाडी र नेपाली प्रतिभाको प्रतिस्पर्धासहित नेपाली खेलकुदकै सबैभन्दा ठुलो व्यावसायिक प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदै छ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबिचको प्रतिस्पर्धासँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु क्रिकेटको महाकुम्भ सुरु हुनेछ। साँझ ५ः३० बजे हुने उद्घाटन खेलले अर्को एक महिनासम्म नेपाली खेलकुदको केन्द्रमा रहने एनपिएलको रोमाञ्चक यात्रा अघि बढ्नेछ। जुन व्यावसायिक प्रतिस्पर्धा एनपिएल झन्डै ढेड अर्बको ब्रान्ड बनिसकेको छ। आठवटै फ्रेन्चाइज टोली र नेपाल क्रिकेट संघ (क्यान) को कारोबारसहित एनपिएलको हिसाब यो हो। जसको पुष्टि नेपाल क्रिकेट संघ (क्यान) ले पनि गरिसकेको छ। यसपल्टदेखि धेरै हिसाबले एनपिएल नयाँ उचाइमा पुग्दै छ।

विश्वका चर्चित स्टारहरू एनपिएलका फ्रेन्चाइज टोलीमा भित्रनु, पहिलोपल्ट डिसिजन रिभ्यु सिस्टम (डिआरएस) को प्रयोग, विदेशी खेलाडीको कोटा बढाइनु र नगद पुरस्कारमा अघिल्लो संस्करणको तुलनामा ३६.३६ प्रतिशत वृद्धिले एनपिएलको तेस्रो संस्करणदेखि नयाँ उचाइ लिनेछ। आइसिसीद्वारा एनपिएललाई मान्यतासँगै लिस्ट ‘ए’ टी ट्वान्टी आई मान्यता पाउनुले विश्व क्रिकेटमा पनि यो लिगको लोकप्रियता झन् बढेको छ। एनपिएलको ब्रान्ड र उचाइ बढेसँगै धेरै प्रश्न उब्जिएका पनि छन्।

 पहिलो सिजनदेखि दोस्रो सिजनसम्म अपारदर्शिताको आरोप क्यानले बेहोर्नुपरेको छ। बोर्डकै सदस्यलाई छलेर आइसिसीमा अडिट रिपोर्ट पठाइएको र हिसाबकिताब सार्वजनिक नगरिएको जस्ता  आरोप तेस्रो सिजन सुरु हुँदा पनि लागिरहेका छन्।

जसको राम्रोसँग जबाफ आइतबार गरिएको आफ्नै पत्रकार सम्मेलनमा पनि क्यानले दिन सकेन। क्यानका सचिव तथा एनपिएल गभर्निङ काउन्सिलका प्रमुख पारस खड्काले आफूहरूले सम्बन्धित ठाउँमा जबाफ दिएको भन्दै टारे। क्यानकै अध्यक्ष चतुरबहादुर चन्दले पनि हतारमा हुँदा बोर्डबिनै आइसिसीमा अडिट पठाइएको स्वीकार गरेका थिए। यद्यपि, कार्यसम्पादन समितिको त्यसमा हस्ताक्षर रहेको उनको दाबी छ।

 क्यानले यति ठूलो आयोजना गरिरहँदा आफ्नै सदस्यबाट आर्थिक अपारदर्शिताको आरोप लाग्नु राम्रो संकेत भने होइन। भविष्यमा यसले एनपिएल आयोजनामै समस्या हुन पनि सक्नेछ। तथापि, क्यानका अध्यक्ष चन्दले काम गर्दै जाँदा गल्ती भए सुधार गरिने दाबी गरे।

‘हरेक व्यक्तिलाई फोन या सोधेर काम गर्न सकिन्न। साधारण सभाबाट अख्तियारी पाएको टोलीले काम गर्छ। पछि त्यसलाई सभाले नै पास गर्ने हो। गल्ती भएका ठाउँमा सुधार गर्दै लान्छौं,’ चन्दले भने,‘विश्व क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) ले पनि सुरुमा यस्तो आरोप सामना गर्नुपरेको सुनेका छौं। पछि राम्रो भयो। हाम्रो पनि सुधार हुँदै जान्छ।’

क्यानले आइतबार नै त्रिवि मैदानमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको जनायो। यद्यपि रातिसम्म पनि फ्रेन्चाइज टोलीले विदेशी खेलाडी अनुबन्धित गरेको भन्दै सार्वजनिक गरेका छन्।

यति ठूलो आयोजना हुँदै गर्दा समयमै खेलाडी अनुबन्धन नगरिनु र केही विदेशी खेलाडीले आफ्नो देशबाट नो अब्जेक्सन लेटर (विदेशमा खेल्न पाउने स्वीकृति) नपाएको सार्वजनिक हुनुले एनपिएलको ब्रान्डमा दाग लागेको छ। यद्यपि, क्यानका सचिव पारस खड्काले सबै खेलाडी एनओसी लिएर आएको दाबी गरे।

 पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रतिखेलाडी २५ हजार डलर माग गरेको र एनओसी दिएको खेलाडीलाई पनि एनपिएल नखेल्ने निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन्। ‘पाकिस्तानी खेलाडीका लागि त्यो समस्या भएको हो तर पछि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) सँग कुराकानी गर्‍यौं। त्यसैले समस्या भएन जस्तो लाग्छ। सबै एनओसी लिएर नै आउनु भएको छ,’ पारसले भने। तर एनओसीको अभावमा अझै केही राम्रा खेलाडी छुट्न गएको उनले स्वीकार गरे। पाकिस्तान क्रिकेटका कप्तान साहिबजादा फरहान नेपाल आइसके पनि उनले नखेल्ने सम्भावना बढेको छ।

क्यानले प्रतियोगिताको तयारी र व्यवस्थापकीय पक्षमा राम्रो गर्ने विश्वास व्यक्त गरेको छ। सुरक्षा निकायको सहयोगमा खेल हेर्न आउने दर्शकको व्यवस्थापनमा पनि कुनै समस्या नहुने क्यानको भनाइ छ। आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने यस संस्करणको फाइनल नोभेम्बर २१ मा हुनेछ। एनपिएलको तेस्रो संस्करण उपाधि जित्ने प्रतिस्पर्धामा सीमित छैन। यसले नेपाली क्रिकेटको व्यावसायिक विस्तार, खेलाडीको क्षमता परीक्षण, विदेशी क्रिकेटसँगको प्रतिस्पर्धात्मक अनुभव र घरेलु क्रिकेटको बजार विकासलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। अघिल्ला दुई संस्करणले सिर्जना गरेको उत्साहलाई अझ माथि उठाउने चुनौती आयोजक, फ्रेन्चाइज टोली र खेलाडीसमक्ष छ। यसपटक उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। अघिल्ला संस्करणको तुलनामा पुरस्कारमा वृद्धि भएको हो। यसपल्ट फ्रेन्चाइज टोलीले पनि लगानी बढाएको स्पष्ट देखिन्छ।

फ्रेन्चाइज क्रिकेटमा लगानी, खेलाडीको प्रदर्शन र समर्थकको आकर्षणले एनपिएलको उचाइ बढेको छ। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेका थिए। दुवै संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेतामै सीमित रह्यो। यसपटक उद्घाटन खेलमै साविक विजेता लुम्बिनी र लगातार फाइनलमा पुगेको सुदूरपश्चिम आमनेसामने हुँदै छन्।

त्यसैले पहिलो खेलले नै उपाधि दाबेदारको शक्ति परीक्षण गर्ने अवसर दिनेछ। लुम्बिनीका लागि उपाधि रक्षा गर्नु मुख्य लक्ष्य हुनेछ। दोस्रो संस्करणको सफलता दोहोर्‍याउने लक्ष्य राखेको लुम्बिनीले विश्व क्रिकेटका ठूला स्टार भने भित्र्याएको छैन। पुराना विदेशी खेलाडीमा भर परेको देखिन्छ। तथापि, सुदूरपश्चिमले भने पाकिस्तानका पूर्वक्रिकेटर मिसबाह उल हकलाई प्रशिक्षकका रूपमा अनुबन्धित गरेको छ। विश्वका ठूला फ्रेन्चाइज लिग खेलेका वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन र शेरफन रदरफोर्डलाई भिœयाउँदै उपाधि धोको पूरा गर्ने संकेत गरेको छ। दीपेन्द्रसिंह ऐरीजस्ता एसोसिएट क्रिकेटकै स्टार रहेको सुदूरपश्चिम यसपल्ट पनि बलियो रहेको देखिन्छ।

लय, रणनीति र दबाब व्यवस्थापनलाई टोलीले सन्तुलित राख्नुपर्नेछ। अर्कोतर्फ, सुदूरपश्चिमका लागि लगातार दुई संस्करणको उपविजेता बनेको इतिहास बदल्ने अवसर हुनेछ। एनपिएलको आकर्षण नेपाली खेलाडीको प्रदर्शनमा मात्र सीमित छैन। यस संस्करणमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, पाकिस्तान, श्रीलंका, जिम्बाब्वे, अमेरिका, क्यानडा र नामिबियासहित विभिन्न देशका स्टार खेलाडी तेस्रो संस्करणदेखि नेपालको व्यावसायिक क्रिकेट खेल्दै छन्। उनीहरूको उपस्थितिले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिनुका साथै नेपाली खेलाडीलाई फरक शैली र स्तरका क्रिकेटरसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।

दक्षिण अफ्रिकाका डेभिड मिलर, अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, न्युजिल्यान्डका जेम्स निसम, इङ्ल्यान्डका मोइन अली र रवि बोपारा तथा वेस्ट इन्डिजका शेरफेन रदरफोर्डजस्ता परिचित नाम छन्।

बंगलादेशका शकिब अल हसन, जिम्बाब्वेका सिकन्दर राजा, पाकिस्तान क्रिकेटका कप्तान साहिबजादा फरहान, हुसेन तलत, श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असालंकाले पनि यस संस्करणदेखि खेल्ने भएपछि एनपिएल नयाँ उचाइमा पुगेको छ।

पाकिस्तानका उसामा मिर र इफ्तिखार अहमद, अमेरिकाका हरमित सिंह, शुभम रञ्जने र शेड्ली भान स्काल्कविक, क्यानडाका कलिम साना, इङ्ल्यान्डका साइफ अली जैब, न्युजिल्यान्डका स्कट कुगेलाइन, अस्ट्रेलियाका डार्सी शर्ट तथा श्रीलंकाका निरोशन डिकवेला र चमिका करुणारत्नेजस्ता खेलाडीले पनि प्रतियोगिताको आकर्षण बढाउने अपेक्षा छ।

बंगलादेशका अरिफुल इस्लाम, मोहम्मद अकबर अली, महेदी हसन र मोहम्मद सैफुद्दिन, स्कटल्यान्डका मार्क वाट, नामिबियाका रुबेन ट्रम्पलम्यान, भारतका कोना श्रीकर भरत, श्रीलंकाका सहान अराच्चिगे र धनञ्जय लक्षण तथा न्युजिल्यान्डका ब्रान्डन म्याकमुलन छन्। यी खेलाडीसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीको क्षमता पनि वृद्धि हुनेमा दुई मत छैन।

यस्ता खेलाडीको उपस्थितिले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव नजिकबाट बुझ्ने अवसर दिन्छ। विश्व क्रिकेटका स्थापित खेलाडीले दबाबको अवस्थामा कसरी निर्णय लिन्छन्, कठिन परिस्थितिमा रणनीति कसरी परिवर्तन गर्छन् भन्ने कुरा नेपाली खेलाडीका लागि महत्त्वपूर्ण सिकाइ हुन सक्छ तर विदेशी खेलाडीको नाम र लोकप्रियताले मात्र प्रतियोगिताको स्तर निर्धारण गर्दैन। उनीहरूलाई नेपाली खेलाडीले मैदानमा कति प्रभावकारी चुनौती दिन्छन् भन्ने पक्ष अझ निर्णायक हुनेछ।

नेपाली क्रिकेट पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान विस्तार गर्ने प्रयासमा छ। राष्ट्रिय टोलीको प्रदर्शन, समर्थकको बढ्दो चासो र घरेलु प्रतियोगिताप्रति देखिएको आकर्षणले क्रिकेटलाई नेपालमा लोकप्रिय खेलका रूपमा थप स्थापित गरेको छ।

एनपिएलले यही लोकप्रियतालाई व्यावसायिक संरचनासँग जोड्ने प्रयास गरिरहेको छ। फ्रेन्चाइज क्रिकेटको मुख्य विशेषता खेल, मनोरञ्जन र व्यावसायिक लगानीलाई एकै संरचनामा जोड्नु हो। खेलाडीको प्रदर्शनले समर्थकलाई मैदानसम्म तान्छ, समर्थकको सहभागिताले प्रायोजकलाई आकर्षित गर्छ र त्यसबाट प्राप्त आम्दानीले प्रतियोगितालाई दिगो बनाउन मद्दत गर्छ। क्यानका कोषाध्यक्ष पदम खड्काले प्रायोजन, टिकट बिक्री र फ्रेन्चाइज टोलीसम्बन्धी कारोबारबाट ठूलो आर्थिक गतिविधि हुने बताएका छन्। प्रायोजनबाट ३० करोड रुपैयाँ र टिकट बिक्रीबाट ७० करोड रुपैयाँको कारोबार हुने अनुमान छ।

फ्रेन्चाइज टोलीसमेत जोड्दा कुल कारोबार डेढ अर्ब रुपैयाँभन्दा बढी पुग्ने उनको दाबी छ। यी आँकडाले प्रतियोगिताको व्यावसायिक महत्त्व देखाए पनि वास्तविक आम्दानी, खर्च र नाफाको मूल्यांकन लेखापरीक्षण तथा आधिकारिक वित्तीय विवरणबाट स्पष्ट हुनेछ। क्यानका सचिव पारसले पनि खर्चको सूची लामै रहेकाले नाफा धेरै नहुने संकेत गरिसकेका छन्।

 व्यावसायिक प्रतियोगिताको विश्वसनीयता कायम राख्न आर्थिक पारदर्शिता, जबाफदेहिता र व्यवस्थापकीय सुधार उत्तिकै आवश्यक हुन्छन्। ठूलो आर्थिक कारोबारको लक्ष्य राखिरहँदा त्यसको वास्तविक उपलब्धि र वित्तीय विवरण सार्वजनिक गर्ने अभ्यासले विश्वास थप बलियो बनाउन सक्छ। हरेक सिजन अपादर्शिताको आरोप लाग्यो भने यसको लोकप्रियता घट्न पनि सक्नेछ।

तेस्रो संस्करणमा पहिलोपटक नेपाली डिआरएस प्रयोग गरिने भएको छ। अम्पायरको निर्णयमा प्रश्न उठेको अवस्थामा यसको प्रयोगले मद्दत गर्नेछ। स्टार खेलाडी हुँदा यसको प्रयोगले लिगकै ब्रान्ड पनि बढाउनेछ। एनपिएलको अर्को महत्त्वपूर्ण पक्ष नेपाली युवा खेलाडीको अवसर हो।

विदेशी खेलाडीको उपस्थितिले प्रतिस्पर्धा कठिन बनाउने भए पनि घरेलु खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने मञ्च पनि यही हो। राष्ट्रिय टोलीमा स्थान बनाउन चाहने खेलाडीले दबाबपूर्ण खेलमा राम्रो प्रदर्शन गरेर आफूलाई प्रमाणित गर्न सक्छन्। अनुभवी विदेशी खेलाडीसँग एउटै टोलीमा खेल्ने वा विपक्षीका रूपमा सामना गर्ने अवसरले उनीहरूको खेलसम्बन्धी बुझाइ र आत्मविश्वास बढाउन सक्छ। यद्यपि, फ्रेन्चाइज प्रतियोगिताको सफलता विदेशी खेलाडीको आकर्षणमा मात्र निर्भर रहनु हुँदैन।  

नेपाली खेलाडीले पर्याप्त अवसर पाउनु, घरेलु प्रतिभाको पहिचान हुनु र प्रतियोगिताबाट राष्ट्रिय टोलीलाई उपयोगी खेलाडी प्राप्त हुनु यसको दीर्घकालीन उपलब्धि हुनुपर्छ। दर्शकलाई मनोरञ्जन दिनुका साथै नेपाली क्रिकेटको आधार बलियो बनाउन सके मात्र एनपिएलको औचित्य अझ स्पष्ट हुनेछ।

सोमबारको उद्घाटन खेलसँगै सुरु हुने एनपिएलको तेस्रो संस्करणले एक महिनासम्म नेपाली क्रिकेटप्रेमीलाई व्यस्त राख्नेछ। आठ टोलीबिचको प्रतिस्पर्धा, चर्चित विदेशी खेलाडीको उपस्थिति, डिआरएसको प्रयोग र डेढ करोड रुपैयाँको विजेता पुरस्कार यसपटकका प्रमुख आकर्षण हुन् तर यी आकर्षणलाई दीर्घकालीन सफलतामा बदल्न एनपिएलको व्यवस्थापन, आर्थिक पारदर्शिता, खेलाडीको सुरक्षा र घरेलु प्रतिभाको विकासमा पनि समान ध्यान दिनु उत्तिकै आवश्यक छ। 

प्रकाशित: ९ कार्तिक २०८३ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App