पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले इङ्ल्यान्डमा आपराधिक अनुसन्धानका क्रममा रहेका मध्यक्रमका ब्याटर हैदर अलीलाई निलम्बन गरेको छ।
२४ वर्षे हैदरलाई होभमा ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेको छ। हैदरले अगस्ट ३ मा बेकेनहेममा भएको एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए। क्रिकबजका अनुसार यौन दुर्व्यवहारको आरोप सम्बन्धी एक मुद्दामा हैदरलाई पक्राउ गरिएको हो। उनलाई पछि धरौटीमा रिहा गरिएको थियो। पिसिबीले हालै यस घटनाबारे विज्ञप्ति जारी गर्दै पर्याप्त प्रमाणपछि उक्त खेलाडीबारे ठोस कदम चाल्ने निर्णय गरेको हो।
‘यो अनुसन्धान पाकिस्तानको इङ्ल्यान्ड भ्रमणका क्रममा भएको एक घटनासँग सम्बन्धित छ। आफ्ना खेलाडीहरूको हकहित सुनिश्चित गर्ने जिम्मेवारीअनुसार पिसिबीले हैदर अलीलाई यो प्रक्रियामा उनको अधिकारको सुरक्षा गर्न आवश्यक कानुनी सहयोग उपलब्ध गराएको छ,’ पिसिबीसँगको कुराकानीमा क्रिकबजले जनाएको छ। पिसिबीले मुद्दाको स्पष्ट परिणाम नआउँदासम्म यो अस्थायी निलम्बन रहेको जनाएको छ।
‘पिसिबीले इङ्ल्यान्डको कानुनी प्रक्रिया र प्रणालीको पूर्ण सम्मान गर्दछ। अनुसन्धानलाई यसको प्राकृतिक प्रक्रियामा अगाडि बढ्न दिनु महत्त्वपूर्ण ठान्दछ। त्यसैले पिसिबीले हैदर अलीलाई तत्काल प्रभावबाट अस्थायी निलम्बन गर्ने निर्णय गरेको छ, जुन हाल भइरहेको अनुसन्धानको परिणाम नआएसम्म रहनेछ,’ विज्ञप्तिमा थपिएको छ।
पाकिस्तानको इङ्ल्यान्ड भ्रमणमा हैदरले फस्र्ट क्लास क्रिकेटमा दुई रेड बल खेलमा क्रमशः ०, १७ र १ रनको प्रदर्शन गरेका थिए। तर, अघिल्ला लिस्ट ए खेलहरूमा उनले ७१, १५ र नटआउट ५५ रनको राम्रो स्कोर गरेका थिए।
हैदरले हालसम्म पाकिस्तानका लागि दुई एकदिवसीय र ३५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन्। यस क्रममा उनले क्रमशः ४२ र ५०५ रन बनाएका छन्। उनले सिनियर पुरुष टोलीका लागि अन्तिम पटक अक्टोबर २०२३ मा खेल खेलेका थिए।
प्रकाशित: २४ श्रावण २०८२ ०६:३६ शनिबार





