१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

मौलिक तथा परम्परागत खेल सम्पन्न, डन्डिबियोमा अछाम पहिलो

प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिताअन्तर्गत घैटोफोरमा शिशिर राना र डन्डिबियोमा अछाम पहिलो भएका छन् ।  

नेपाल अल स्पोर्ट्स हबले नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले ६ वटा परम्परागत खेलको प्रतियोगिता आयोजना गरेको हो । घैटोफोर र डन्डिबियोसँगै बाघचाल, सटपुट, टग अफ वार (डोरितान) र बुद्धिचालजस्ता खेल काठमाडौंस्थित सिफलमा आयोजना भएका थिए । दुई दिने प्रतियोगितामा आइतबार नै बाघचाल, टग अफ वार (डोरितान) र बुद्धिचाल पनि सम्पन्न भए । डन्डिबियोमा टिम दोलखा दोस्रो र थापाथली एकेडेमी तेस्रो स्थानमा रहे । विजयी अछाम टिममा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा समावेश थिए । दोलखाको टिममा इन्द्र कुमार बस्नेत, कुमार विक र सुमन मोक्तान समावेश थिए ।

थापाथली टोलीमा आरभ श्रेष्ठ, निसान धिमाल र गौरव श्रेष्ठ थिए । डन्डिबियोमा १६ टोली समावेश थिए । सट पुटमा सुरेश डंगोल पहिलो, शुभम् चाम्लिङ दोस्रो तथा तारा बहादुर रानाभाट तेस्रो भए । घैटोफोरमा अनुभव चे खाइजु दोस्रो र ताराबहादुर रानाभाट तेस्रो स्थानमा रहे । बाघचालको उपाधि कृष्ण प्रसाद सिग्देल जितेका छन् । सो स्पर्धामा विपिन अमात्य दोस्रो र इन्द्र बस्नेत तेस्रो स्थानमा रहे । टग अफ वारमा टिम जेनजी पहिलो भयो । यो टोलीमा सन्देश बस्नेत, राजु बस्नेत, रबिन खड्का, सन्तोष धामी, रिवाज नेपाल, सौजन्य कोइराला, राहुल थारु, र जयस खनाल समावेश थिए ।

यो खेलमा टिम सगरमाथा दोस्रो र माउन्ट एभरेस्ट तेस्रो भए । विजेतालाई नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना र आयोजक नेपाल अल स्पोर्ट्स हबका अध्यक्ष दिपेन राईलगायतले पुरस्कृत गरेका थिए । मौलिक र बौद्धिक खेलका रूपमा परिचित बाघचाल नेपाली समाजमा शताब्दीऔं देखि खेलिँदै आएको रणनीतिक खेल बाघचालमा २६ खेलाडीले प्रतिस्पर्धा गरे । ग्रामीण बस्तीदेखि मठमन्दिर, चौतारा र सार्वजनिक स्थलसम्म लोकप्रिय रहेको बाघचाल पछिल्ला वर्षहरूमा आधुनिक खेल र प्रविधिको प्रभावसँगै ओझेलमा पर्दै गएको छ ।

यही मौलिक खेलको ऐतिहासिक महत्वलाई पुनर्जीवित गर्दै यसको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपल्ट राष्ट्रिय स्तरमा प्रतियोगिता भएको छ । यसै प्रतियोगितामार्फत् नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै नेपाली मौलिक खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ । नेपालमा लोकप्रिय रहेको बुद्धिचालमा पाँचथरका प्रतिभाशाली खेलाडी रिसन थापा पहिलो भए । दोलखाका आशिष फुयाँल दोस्रो, सुमन मोक्तान तेस्रो र पुरुषोत्तम सिलवाल चौथो भए । राजेन्द्रप्रसाद श्रेष्ठ पाँचौं स्थानमा रहे ।

प्रकाशित: १४ असार २०८३ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App