तीन खेलाडी सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार सम्पन्न सिंगल्सतर्फ यु–८ ब्वाइजमा सर्वज्ञ र गर्ल्समा स्वर्णिमा र यु–१० गर्ल्समा निम्तिले स्वर्ण जितेका हुन्। तीन उमेर समूहका फाइनलमा सर्वज्ञले गगन श्रेष्ठलाई १०–७ र १०–७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६ र १०–७ तथा निम्तिले रजिशा जोशीलाई ६–१ र ६–४ को सोझो सेटमा हराए।
महिला सिंगल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन्। सेमिफाइनलमा शिभालीले सुनीरा थापालाई ६–२ र ६–० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६–० र ६–२ ले हराउँदै उपाधि भिडन्त तय गरे। पुरुष सिंगल्समा सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रदीप खड्काले आयुष्मान्हजुर घलेलाई ६–३ र ६–१ र प्रणव मानन्धरले निहालजंगबहादुर थापालाई ६–० र ६–४ ले हराए। यसै विधामा निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२ र ६–० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६–० र २–० (रिटायर्ड हर्ट) ले हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन्।
यु–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२ र ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–० र ४–० ले पन्छाउँदै फाइनलमा पुगे। यसै स्पर्धाको गर्ल्समा निम्ति कुँवरले साहरा कायस्थलाई ४–० र ४–२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–० र ४–० ले हराउँदै फाइनलमा स्थान बनाएका छन्।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा यु–१६ ब्वाइज सिंगल्स पनि उपाधि भिडन्त तय भएको छ। यस विधामा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६–२ र ६–० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३ र ६–० ले हराउँदै फाइनलमा स्थान बनाए। यु–१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवालको चुनौती ६–२ र ६–४ ले पन्छाए। यु–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगेका छन्।
सोही स्पर्धाको गर्ल्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७ र ६–३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३ र ६–४ ले हराउँदै फाइनलमा पुगेका छन्। यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए। यसै स्पर्धाको गर्ल्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन्।
प्रकाशित: २१ कार्तिक २०८२ ०८:३६ शुक्रबार





