४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एनभिए महिला तथा पुरुष भलिबल : प्रतिभाको पुनरागमनमा न्यु डायमन्ड सेमिफाइनलनजिक

प्रतिभा मालीले पुनरागमन गरेको दिन न्यु डायमन्ड स्पोर्ट्स क्लब जित निकाल्दै एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सेमिफाइनलनजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा समूह ‘ए’ को खेलमा न्यु डायमन्डले सोमबार त्रिभुवन आर्मी क्लबलाई ३–० ले हरायो। यससँगै दुई खेलबाट दुई जितसँगै न्यु डायमन्ड सेमिफाइनलनजिक पुगेको छ। यी दुवै टोली सेमिफाइनलको बलियो दाबेदार हुन्। न्यु डायमन्ड स्पोर्ट्स क्लबले मंगलबार समूहको अन्तिम खेलमा एभरेस्ट महिला भलिबल क्लबसँग खेल्नेछ। यही खेलले समूहविजेता र सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लगाउनेछ। सोमबार आर्मीसँगको खेलबाट चर्चित स्पाइकर प्रतिभा माली लामो समयपछि घरेलु कोर्टमा फर्किइन्। उनी दुई वर्षपछि घरेलु प्रतियोगितामा फर्किएकी हुन्।

न्यु डायमन्डले तीनै सेटमा आर्मीलाई २५–१७ ले हराउँदै समूहमा दोस्रो जित निकाल्यो।  यो खेलमा प्रतिभा नै प्लेअर अफ दी म्याच घोषित भइन्। प्रतिभाले लामो समयपछि मैदान फर्कन पाउँदा धेरै खुसी लागेको बताइन्। ‘लामो समयपछि मैदानमा फर्कन पाउँदा धेरै खुसी छु। आर्मी राम्रो टोली हो। तर, सुरुमा सहज रूपमा लिँदा उनीहरूले पनि चुनौती दिए र खेल प्रतिस्पर्धात्मक नै रह्यो। तीनै सेटमा उनीहरूले राम्रो खेले,’ प्रतिभाले भनिन्, ‘सोचेअनुरूप खेल्न सकिनँ। अब तीनवटा घरेलु प्रतियोगिता खेल्नेछु।’ यसअघि पहिलो खेलमा न्यु डायमन्डले चुली युवा क्लबलाई हराएको थियो। महिलातर्फ कुल ८ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्।

समूह ‘ए’ बाट आर्मीले तीन खेलबाट दुई जित र न्यु डायमन्डले दुई खेलबाट दुई जित निकालेको छ। आर्मीले न्यु डायमन्डलाई हराउँदै समूहविजेता बन्ने अवसर गुमायो। आर्मीले यसअघि दुई खेलमा एभरेस्ट र चुली युवालाई हराएको थियो। तर, तेस्रो खेलमा भने आर्मीको डिफेन्स राम्रो हुन सकेन। समूह ‘बी’ को सुदूरपश्चिम प्रदेश स्पोर्ट्स काउन्सिलले लिगको अन्तिम खेलमा मधेस प्रदेश स्पोर्ट्स काउन्सिललाई ३–० को सोझो सेटमा हराउँदै पहिलो जित निकाल्यो। सुदूरपश्चिमले मधेसलाई २५–२१, २५–१४ र २५–१७ ले हरायो। यो समूहबाट एपिएफ सेमिफाइनलमा पुगिसकेको छ। अब नेपाल पुलिस क्लब र सुदूरपश्चिममध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ।

तीन खेलबाट सुदूरपश्चिमको एक जित छ। पुलिसको एक खेलबाट एक जित छ। पुलिसले दोस्रो खेल एपिएफसँग मंगलबार खेल्दै छ। यो खेलले नै सेमिफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउनेछ। पुरुषतर्फ रुकुम पश्चिम ट्रेनिङ सेन्टरले लगातार दोस्रो जित निकाल्दै समूहविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ। समूह ‘सी’ को रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमाथि ३–१ को सेटमा जित आत्मसात् गर्‍यो। रुकुमले पहिलो दुई सेट २५–२० र २५–१८ ले आफ्नो पक्षमा पार्‍यो। तर, तेस्रो सेट जावलाखेलले २५–२३ ले आफ्नो बनाउँदै पुनरागमन गर्ने संकेत गर्‍यो। यद्यपि, रुकुम पश्चिमले चौथो सेट २५–१८ ले आफ्नो पक्षमा राख्दै जित निकाल्यो।

यसअघि पहिलो खेलमा रुकुम पश्चिमले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो। जावलाखेलले पहिलो खेलमा हार बेहोरेको थियो। समूह ‘डी’ खेलमा त्रिभुवन आर्मी क्लबले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई २५–१९, २५–२१ र २५–२१ ले हरायो। यससँगै आर्मी समूह विजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो। यो समूहबाट क्वार्टरफाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ। यस च्याम्पियनसिपमा महिलातर्फ आठ र पुरुषमा १२ टोलीले प्रतिस्पर्धा गर्दै छन्। यस प्रतियोगिताबाट पुरुषमा शीर्ष आठ र महिलामा शीर्ष ६ क्लबले प्रधानमन्त्री कप एनभिए लिग खेल्नेछन्।

प्रकाशित: १५ पुस २०८२ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App