४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एनभिए महिला तथा पुरुष भलिबल: न्यु डायमन्ड र पुलिस फाइनलमा

अपराजित टोलीद्वय न्यु डायमन्ड स्पोर्ट्स युथ क्लब र नेपाल पुलिस क्लब नवौं एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी च्याम्पियनसिपमा पुरुषतर्फ तीन जना पाकिस्तानी खेलाडी अनुबन्धित गरेको हेल्प नेपाल स्पोर्ट्स र त्रिभुवन आर्मी क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

महिलामा विभागीय टोली पुलिस र न्यु डायमन्ड अपराजित रहँदै फाइनलमा पुगेका हुन्। यी दुईबीच शनिबार उपाधि भिडन्त हुनेछ। शुक्रबार भएको सेमिफाइनलमा न्यु डायमन्डले एपिएफलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराए।

दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले विभागीय डर्बीमा पुलिसलाई चुनौती दिने प्रयास गरे पनि सफल भएन। दोस्रो सेट मात्र प्रतिस्र्धात्मक बन्यो। खराब डिफेन्स सामना गरेपछि आर्मीले पुलिससँग ३–१ को सेटमा हार बेहोर्‍यो।

पुलिसले पहिलो सेट २५–१२ ले सहजै आफ्नो पक्षमा पारेको थियो। तर, दोस्रो सेट भने २९–३१ ले गुमाउन पुग्यो। त्यसपछिका सेटमा पुलिसले पुनरागमन गर्दै २५–१४ र २५–१८ को जित निकाल्यो। यससँगै पुलिसले उपाधिका लागि न्यु डायमन्डसँग भेट पक्का गर्‍यो। पहिलो सेमिफाइनलमा न्यु डायमन्डले शुक्रबार नै अर्को विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो। प्रतिभा माली सम्मिलित न्यु डायमन्डलाई एपिएफले कुनै सेटमा पनि चुनौती दिन सकेन। न्यु डायमन्डले पहिलो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट २५–२० ले जितेको न्यु डायमन्डले तेस्रो सेट २५–७ ले आफ्नो आफ्नो बनायो।

पुरुषमा आर्मी र हेल्प नेपाल फाइनलमा

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले शनिबार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। हेल्प नेपाल र रुकुम पश्चिम दुवै टोलीबाट समान तीन जना पाकिस्तानी  खेलाडीले प्रतिस्पर्धा गरेका छन् तर रुकुम पश्चिमले जित तय गर्न सकेन। शुक्रबार सम्पन्न सेमिफाइनलमा हेल्प नेपालले नेपाल पुलिस क्लब र  आर्मीले रुकुम पश्चिमलाई पन्छाएका हुन्। पहिलो सेमिफाइनलमा हेल्प नेपालले  पुलिसलाई ३–० को सोझो सेटमा हरायो। दोस्रो सेमिफाइनलमा आर्मीले रुकुम पश्चिममाथि ३–२ को सेटमा जित निकालेको हो।

राखेप कभर्डहलमा सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले पुलिसको चुनौती २५–२१, २५–२३, २५–२२ ले पन्छायो। दोस्रो सेमिफाइनलमा रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरले पहिलो सेट गुमाएको थियो तर रुकुम पश्चिमले त्यसपछि दोस्रो र तेस्रो सेट आफ्नो बनाउँदै पुनरागमन गर्ने संकेत गर्‍यो। यद्यपि त्यसपछिका सेट गुमाएपछि रुकुम पराजित भयो। आर्मीले पहिलो सेट २५–२० ले आफ्नो बनाउँदै सुखद सुरुआत गरेको थियो तर  रुकुम पश्चिमले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्नो बनाएपछि पुनरागमन गर्ने संकेत गर्‍यो।

यसपछि आर्मीले उत्कृष्ट रिसिभ गरेपछि रुकुम पश्चिमले चौथो र पाँचौं सेट गुमायो।  यससँगै रुकुम पश्चिमको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन। आर्मीले चौथो सेट २६–२४ ले आफ्नो बनाउँदै निर्णायक तथा पाँचौं सेटतर्फ खेल धकेल्यो।

निर्णायक सेटमा रुकुम पश्चिमले खराब प्रदर्शन गर्‍यो। यो सेट आर्मीले १५–१२ ले आफ्नो बनाउँदै फाइनलमा स्थान तय गर्‍यो। उक्त खेलमा आर्मीका धनबहादुर भट्ट प्लेयर अफ दी म्याच घोषित भए। उनलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव टंकलाल घिसिङले प्लेयर अफ दी म्याचको पुरस्कार प्रदान गरे।

यस च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ स्थानमा रहने क्लबले प्रधानमन्त्री कप राष्ट्रिय भलिबल लिगमा स्थान बनाउनेछन्। महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार र तेस्रो स्थानमा रहने टोलीले एक लाख २५ हजार रुपैयाँ पाउनेछन्। दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: १९ पुस २०८२ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App