विभागीय टोलीद्वय नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब जारी नवौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा पुग्दा तेस्रो विभागीय टोली एपिएफ बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न क्वार्टरफाइनलमा सबैभन्दा कान्छो विभागीय टोली एपिएफ भने पराजित हुन पुग्यो। पुरुषतर्फ पहिलो सेमिफाइनलमा पुलिसले हेल्प नेपाल स्पोटर्स क्लब र दोस्रो सेमिफाइनलमा आर्मीले रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछन्।
बिहीबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा पुलिसले कोसी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्यो। कोसीले डिफेन्स राम्रो गर्न नसक्दा आशातीत प्रदर्शन गर्न सकेन। कोसीले लिग चरणमा आर्मीविरुद्ध भने प्रशंसायोग्य प्रदर्शन गरेको थियो। तर, अर्को विभागीय टोली पुलिससँग भने कोसीले लय समाउन सकेन। कोसीका लिफ्टरले पनि खराब प्रदर्शन गरे।
पुलिसले पहिलो सेट २५–१९ ले आफ्नो बनाउँदै सुखद सुरुआत गर्यो तर दोस्रो सेटमा कोसीले सुरुआतमा राम्रो चुनौती दिने प्रयास गर्यो तर डिफेन्स राम्रो गर्न नसक्दा यो सेट पनि कोसीले २५–१७ ले गुमायो। त्यसपछि दबाबमा परेको कोसीले तेस्रो सेट पनि २५–१८ ले पुलिसलाई सुम्पियो।
अब पुलिसले शुक्रबार दिउँसो २ बजे हेल्प नेपाल स्पोर्ट्स क्लबसँग सेमिफाइनल खेल्नेछ। त्यसअघि पहिलो क्वार्टरफाइनल खेलमा हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। तीन जना पाकिस्तानी खेलाडी अनुबन्धित गरेको हेल्प नेपालले दोस्रो सेटमा चुनौती सामना गरे पनि जित निकाल्न सफल भयो।
हेल्प नेपालले पहिलो सेट २५–१३ ले सहज रूपमा आफ्नो पक्षमा पा¥यो। दोस्रो सेट भने प्रतिस्पर्धात्मक बन्यो तर हेल्प नेपालले बुढानीलकण्ठको चुनौती २५–२३ ले पन्छायो। यससँगै तेस्रो सेटमा हेल्प नेपालले दबाब बनायो।
अनुभवी पाकिस्तानी खेलाडीको साथमा हेल्प नेपालले तेस्रो सेट पनि २५–१८ ले आफ्नो बनाउँदै सेमिफाइनल यात्रा तय ग¥यो। तीन विदेशी खेलाडीको साथ पाएको रुकुम पश्चिमले पनि तेस्रो क्वार्टरफाइनलमा विभागीय टोली एपिएफको चुनौती ३–१ ले पन्छायो। रुकुम पश्चिमबाट पनि तीन पाकिस्तानी खेलाडी खेलेका छन्। रुकुम पश्चिमले पहिलो सेट भने २५–२२ ले गुमाएको थियो। अनुभवी विदेशी खेलाडीको साथ पाएको रुकुमले त्यसपछिका सेटमा लगातार जित निकाल्यो।
रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो २५–१६ र २५–२० ले आफ्नो बनाउँदै एपिएफको लक्ष्य पूरा हुन दिएन। अन्तिम क्वार्टरफाइनलमा आर्मीले अर्घाखाँचीको खिल्जी युवा क्लबलाई ३–० को सेटमा हराउँदै रुकुम पश्चिमसँग भेट पक्का गर्यो। खिल्जीबाट पनि दुई जना भारतीय खेलाडी अनुबन्धित थिए तर खिल्जी क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेन। आर्मीले खिल्जीलाई २५–१८, २५–१७ र २५–१५ ले हरायो।
शुक्रबार पुरुषसँगै महिलातर्फ पनि सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता न्यु डायमन्ड स्पोटर््स युथ क्लबले समूह ‘बी’ को उपविजेता एपिएफसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता पुलिस क्लबले समूह ‘ए’ को उपविजेता आर्मीसँग खेल्नेछ। न्यु डायमन्ड र पुलिस अपराजित टोली पनि हुन्।
प्रकाशित: १८ पुस २०८२ ०६:४५ शुक्रबार





