४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : महिलातर्फ खेलाडी र खेलमा विविधता

पुरुषको तुलनामा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको महिला उत्कृष्ट खेलाडीको विधामा खुला होड पाइन्छ। यसका विजेतामा पर्याप्त विविधता पनि रहेको छ, खेल र खेलाडी दुवै अर्थमा।

पुरुषजस्तै महिलाको यो विधामा पनि प्रत्येक संस्करणमा अवार्ड दिइँदै आएको छ, वर्ष २०७८ को एउटा अपवाद छाडेर। सबैलाई थाहा छ, त्यो वर्ष दशकको उत्कृष्टलाई अवार्ड दिइएको थियो। र, त्यति बेलाकी विजेता थिइन्, सावित्रा भण्डारी।

यिनै सावित्राले वर्ष २०७५ मा यो अवार्ड जितेकी थिइन्। उत्कृष्ट महिला खेलाडीको अवार्डको शृंखला सुरु हुन्छ, संगीना वैद्यबाट। उनले नै २०५३ को पहिलो पुरस्कार जितेकी थिइन्। संगीनाले नै २०६० मा यो अवार्ड ब्युँझिँदा फेरि जितिन्। संगीनापछि यो विधामा त्यस्ती एक्ला खेलाडी मात्र छिन्, जसले यो अवार्ड दुईपल्ट जितिन्।

उनी हुन्, करातेकी गंगा अधिकारी। उनले वर्ष २०६६ मा पहिलो पटक जितिन्। त्यसपछि २०६९ मा फेरि त्यस्तै सफलता दोहोर्‍याइन्। गंगाको नाममा जोडिएको यो अतुलनीय तथ्य भयो। संगीना र गंगासँगै यो अवार्ड अहिलेसम्म २० खेलाडीले जितेका छन्।

वर्ष २०६१ मा यो अवार्ड दुई जनाले सँगै पाए। पुरुष र महिलाको व्यक्तिगत विधामा जोडी खेलाडीले अवार्ड पाएको यो नै पहिलो र एक्लो उदाहरण हो। र, उनीहरू हुन्, ब्याडमिन्टनका पूजा श्रेष्ठ र सुमिना श्रेष्ठ।

खेलको आधारमा १० खेलका खेलाडीले यो अवार्ड जितेका छन्। त्यसमा सबैभन्दा बढी तेक्वान्दो र ब्याडमिन्टन रहेको छ। ब्याडमिन्टनका लागि यो प्रेरित रहने तथ्य भयो। तेक्वान्दोबाट यो अवार्ड जित्ने अर्की खेलाडी हुन्, मनिता शाही। अनि ब्याडमिन्टनबाट भने नङ्सलदेवी तामाङ र शोभा गौचनले यो अवार्ड हात पारे। यस्तोमा ब्याडमिन्टनले तीन अवसरमा अवार्ड जिते पनि व्यक्तिगत रूपमा यो सफलता चुम्ने चार खेलाडी भए।

करातेले तीन अवसरमा यो अवार्ड जितेको छ। त्यसमध्ये दुई अवसरमा गंगाले जितिन्। पछिल्लो पटक वर्ष २०८० मा यस्तै उपलब्धि एरिका गुरुङले हात पारिन्। त्यसपछि एथलेटिक्स, पौडी, फुटबल र जुडोले दुईदुई अवसरमा यो अवार्ड आफ्नो नाममा लेखाए। एथलेटिक्सबाट निर्मला भारती र राजपुरा प्रसाईं तथा पौडीबाट करिश्मा र गौरिका सिंहले यो अवार्ड जिते। गौरिका त अन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि सर्वाधिक स्वर्ण पदक जित्ने खेलाडी नै भइन्।

फुटबलबाट सबैभन्दा पहिलो यो अवार्ड चुम्ने खेलाडी हुन्, जमुना गुरुङ। उनलाई नेपाली महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ। त्यसपछि सावित्रा नै भइन्। जुडोबाट अवार्ड जित्ने खेलाडी सूचीमा पर्छन् सुनीता बोहरा र फुफुल्हामु खत्री। संयोगले उनीहरू लगातार वर्ष विजेता घोषित भए।

एक/एक अवसरमा यो अवार्ड जित्ने खेल र खेलाडीमा पर्छन् क्रिकेटकी नेरी थापा, भारोत्तोलनकी तारा पुन र भलिबलकी अरुणा शाही। यो सूचीलाई आधार मान्दा एउटा अर्को तथ्य पनि स्थापित हुन्छ र त्यो हो, नेपाली महिला खेलकुदमा एकै खेलाडीले लामो समय वर्चस्व कायम गरेको इतिहास भने रहनेछैन। संगीता नै एक्ली यस्ती खेलाडी हुन्, जसले लामो समय माथिल्लो स्तरमा राम्रो खेलिन्।

यसपल्ट पोखरामा हुने अवार्डको २२औँ संस्करणमा महिलातर्फ विजेता हुने खेलाडी को हुनेछिन् त ? यसपल्ट मनोनयनमा करातेकी एरिका र एलिसा मगर, खोखोकी मानमती धामी, फुटबलकी रेखा पौडेल र भलिबलकी सलिना श्रेष्ठ रहेका छन्। यी नाममध्ये एरिका पछिल्लो संस्करणकी पनि विजेता हुन्। यस्तोमा उनीसामु नयाँ इतिहास रच्ने अवसर हुनेछ। खोखो भने अवार्डको इतिहासमै पहिलो पटक मनोनयनमा परेको हो।

प्रकाशित: २२ पुस २०८२ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App