२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

पाैडीमा तीन राष्ट्रिय कीर्तिमान

तीन पौडीबाज कल्किन श्रेष्ठ, सौर्यनबहादुर सिंह र इरभिन श्रेष्ठले १३औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन शनिबार तीन राष्ट्रिय कीर्तिमान बनाएका छन्।

शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा जेम्सका कल्किनले १५ सय मिटर फ्रिस्ट्याल, इरभिनले दुई सय मिटर फ्रिस्ट्याल र सौर्यनले एक सय मिटर बटरफ्लाइमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।

नेपाल पौडी संघको आयोजनामा सातदोबाटोस्थित राष्ट्रिय हिटिङ पौडी पोखरीमा जेम्सका कल्किनले १७ मिनेट ५.६४ सेकेन्ड समयका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाए। यसअघि नासिर याहा हुसेनको नाममा १७ मिनेट ४९.९५ सेकेन्ड समयको कीर्तिमान थियो। हुसेनले उक्त कीर्तिमान काठमाडौंमा भएको १३औं सागमा बनाएका हुन्। नेपाल पुलिस क्लबका इरभिनले भने एक मिनेट ५६.२७ सेकेन्ड समयका साथ दुई मिटर फ्रिस्ट्यालमा नयाँ कीर्तिमान बनाए।

यसअघि नासिरकै नाममा एक मिनट ५८.३० सेकेन्ड समयको कीर्तिमान थियो। उनले १५औं फिना वर्ल्ड पौडी च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए। सौर्यले एक सय मिटर बटरफ्लाइमा ५८.६४ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। यसअघि अजलकाजी ताम्रकारले ललितपुरमा भएको नेपाल एक्वाटिक्स च्याम्पियनसिप २०२४ मा ५९.१७ सेकेन्डको कीर्तिमान बनाएका थिए।

पहिलो दिनमा नै कुल १४ स्वर्ण पदकको छिनोफानो भयो। १५०० मिटर फ्रिस्टायलमा नेपाल आर्मी क्लबका सनिलकुमार थापामगर दोस्रो र जेम्सका मायोन श्रेष्ठ तेस्रो भए। इरभिनले दुई सय मिटर फ्रिस्टायलमा बिहान भएको हिट चरणका क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।

इरभिनले फाइनलमा भने एक मिनेट ५७.६० सेकेन्ड समय लगाए। जेम्सका कल्किन श्रेष्ठ दोस्रो र सुदूरपश्चिम प्रदेशका अथर्व सिंह तेस्रो भए। एक सय मिटर बटरफ्लाईमा नेपाल पुलिसका अशिम भण्डारी र आर्मी क्लबका अभिभ प्रधान क्रमशःदोस्रो र तेस्रो स्थानमा रहे।

दुई सय मिटर ब्रेष्ट स्ट्रोकमा सुदूरपश्चिमका अभर्व सिंहले पहिलो भए। उनले २ मिनेट ३१.७० सेकेन्ड समय लगाए। दोस्रो स्थानमा कोशी प्रदेशका विकास कुमाल भए। आर्मीका आरभ अग्रवाल तेस्रो स्थानमा रहे। ५० मिटर ब्याकस्ट्रोकमा एपिएफका जेडन श्रेष्ठले स्वर्ण पदक जिते। उनले २८.३३ सेकेन्ड समय लगाए।

आर्मीका रेवन्तबहादुर श्रेष्ठले रजत र एपिएफका निर्भय थापाले कांस्य पाए। ५० मिटर बटरफ्लाईमा पुलिस क्लबका अशिम भण्डारीले स्वर्ण जिते। उनले २६.७७ सेकेन्ड समय लगाए। आर्मीका अभिभ प्रधानले रजत र कोशीका विकास कुमालले कांस्य पदक जिते।

दुई मिटर महिलामा पुलिसकी अध्याश्री जोशीले स्वर्ण जितिन्। उनले तीन मिनट ४.०७ सेकेन्ड समय लगाइन्। न्यु मिलेनियमकी प्राज्ना ताम्राकारले रजत र पुलिसकी मेधावी केसीले कांस्य जिते। चार सय मिटर फ्रिस्टायलमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन्। उनले चार मिनेट ४८.८४ सेकेन्ड समयमा दूरा पार गरिन्। एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कांस्य जिते।

५० मिटर ब्याक स्ट्रोकमा आर्मीकी मिखा थापाले स्वर्ण जितिन्। उनले ३२.३८ सेकेन्ड समय लगाइन्। एपिएफकी आर्या महर्जनले रजत र पुलिसका लुना श्रेष्ठले कांस्य पदक जिते। एक सय मिटर बटरफ्लाइमा पुलिसकी देवांशी जोशीले स्वर्णमा आफ्नो नाम लेखाइन्। उनले एक मिनट १२.९६ सेकेन्ड समय लगाइन्।

मिल्सवेरीकी सिशोम्बु राईले रजत र आर्मीकी आभा वैद्यले कांस्य पदक जिते। दुई सय मिटर फ्लाईमा पनि आर्मीकी मिखाले नै स्वर्ण जितिन्। मिखानले दुई मिनट १६.५६ सेकेन्ड समय लगाइन्। पुलिसकी इभाना श्रेष्ठ रजत र जेम्सकी श्रेया महर्जन कांस्य जित्न सफल भए।

५० मिटर फ्लाईमा पनि आर्मीकी मिखाले नै स्वर्ण जितिन्। यससँगै उनले स्वर्ण संख्या तीन पुर्‍याइन्। मिखाले यस विधामा ३०.९० सेकेन्ड समय लगाइन्।

पुसिलका देवांशी जोशी र लुना श्रेष्ठले रजत र कांस्य पदक जिते। ५० मिटर चार गुणा फ्रिस्टायल रिलेमा पुरुषमा आर्मीले स्वर्ण जित्यो। अभिभ प्रधान, सनिलकुमार थापामगर, आरभ अग्रवाल र रेवन्तबहादुर श्रेष्ठको टोलीले सफलता पाएको हो। यो टोलीले एक मिनट ४२.९१ सेकेन्ड समयका साथ दुरी पूरा गर्‍यो। पुलिसले रजत र एपिएफले कांस्य जित्यो।

यसै विधाको महिलामा एपिएफ पहिलो, पुलिस दोस्रो र आर्मीले तेस्रो भयो। एपिएफका रोशी न्यौपाने, जोया थापा, बैनभी श्रेष्ठ र आर्या महर्जनको टोलीले दुई मिनेट १.१३ सेकेन्ड समय लगायो। त्यसअघि च्याम्पियनसिपको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले उद्घाटन गरेका थिए। च्याम्पियनसिपमा कुल ३१ स्वर्ण पदकका लागि एक सय ८३ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।  

प्रकाशित: २१ मंसिर २०८२ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App