उदयपुरमा शुक्रबारदेखि सुरु ‘एन्फा महिला फुटबल च्याम्पियनसिप ०८२’मा न्यरोड महिला फुटबल टिम (एनआरटी)ले विजयी यात्रा सुरु गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)द्वाराआयोजित प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम गाईघाट महिला फुटबल टिम (जिएफटी)लाई २–० को गोल अन्तरले हराउँदै एनडब्लयुटीले जितको सुरुवात गरेको हो।
सदरमुकाम गाईघाटस्थित थरुहट रंगशालामा सुरु खेलमा मध्यान्तरअघिको ४१ औँ मिनटमा न्युरोडकी खेलाडी प्रतिक्षा ठकुरीले गरेको पहिलो गोल गरेर टिमलाई अघि बढाएकी थिइन्। टिम क्याप्टेनसमेत ‘रहेकी ठकुरीले मध्यान्तरअघि अन्तिममा थपिएको २ मिनट समयको सदुपयोग गर्दै टिमका लागि गोल गरेकी हुन्।
मध्यान्तरपछिको खेलमा ७९ औँ मिनटमा एनआरटीको तर्फबाट सुशीला केसीले अर्को गोल गर्दै एनआरटीका लागि गोल थप्दै टिमलाई विजयी गराएकी हुन्। घरेलु मैदानमा बलियो आत्मबलका साथ प्रतियोगितामा सामेल भएका गाईघाटका खेलाडीहरूले मध्यान्तरअघि पटकपटक गोल गर्ने प्रयास गरेका थिए। मध्यान्तरपछि पनि जोस कायमै राखेका खेलाडीहरू अर्को गोलको सामना गर्नु परेपछि भने उत्साह प्रदर्शन गर्न नसक्दा आत्मबल गिरेको अनुमान लगाउन सकिन्थ्यो।
खेलको ७३ औँ मिनटमा गाईघाटकी खेलाडी सजिना कोइरालाले रातो कार्डको सामना गर्नुपर्यो। खेलको म्यान अफ द म्याच एनआरटीकै क्याप्टेन प्रतिक्षा ठकुरी घोषित भईन्।
शनिबारको खेलमा २ चरणमा ४ समूहले प्रतिस्पर्धा गर्नेछन्। जस अनुसार विहान मध्यान्ह १२ः०० वजेको खेलमा नेपाल पुलिस क्लब र एफसी रियलबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ः०० वजे चर्च ब्वाईज र छहारी क्लबबीच भिडन्त हुने खेलको सहजकर्ता एन्फा उदयपुरले जनाएको छ।
नेपालमै पहिलो पटक आयोजना गरिएको महिला च्याम्पियनसिप प्रतियोगिता उदयपुरमा सञ्चालन गरिएको हो। उदयपु एन्फाका महासचिव किरण राईको गृहजिल्ला हो। महासचिव राईले गृहजिल्ला भएर मात्र नभई गाईघाटको थरुहट रंगशाला प्रदेशका १४ जिल्लामै सबभन्दा उत्कृष्ट खेलमैदान भएको जिल्ला भएको र खेलकुदको विकास गर्न यस्ता ठूला प्रतियोगिताहरु मोफसलमा पनि गर्नु आवश्यक ठानेर गरेको बताए।
नेपालमा पछिल्लो समय जल्दोबल्दो महिला खेलाडीहरु उदाउँदै गरेकाले दक्षिण एसियाली फुटबल संघकै चाहना बमोजिम अन्तर्राष्ट्रिय यो प्रतियोगिता गाईघाटमा आयोजना गरिएको महासचिव राईले बताए। केही वर्षयता नेपाली महिला फुटबल खेलाडीहरुले अन्तर्राष्ट्रियस्तरमा ख्याती कमाउँदै गएको प्रभाव स्वरुप दक्षिण एसियाली फुटबल संघकै चाहनामा उदयपुरमा प्रतियोतिगा गरिएको उनले बताए।
प्रतियोगितामा घरेलु गाईघाट र विभिन्न विभागीय टिमसहित १० खेलाडी समूहको सहभागिता रहने एन्फाले जनाएको छ। जसमा एफसी रिएल, नेपाल पुलिस, एपिएफ, आरएस रिसोर्ट, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, छहारी वाइसी र संकटा क्लब काठमाडौं रहेका छन्।
एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता भएकाले आकर्षक र रोमाञ्चक प्रतिस्पर्धा हुने बताए। उनका अनुसार प्रतियोगितामा प्रीति राई र साम्बा बाहेक अन्य सबै चर्चित राष्ट्रिय महिला खेलाडीहरु उदयपुर आउने कार्यक्रम छ।
विजेता टोलीले ७ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगितामा उपविजेतालाई ५ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक एन्फाले जनाएको छ।
प्रकाशित: १ फाल्गुन २०८२ २१:२४ शुक्रबार





