१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

एनपीएल सिजन-२ः कुशलको छक्का, शहाबको ६ विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन-२ शनिबार सकिएको छ। लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम रोएल्सलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि उचालेको छ। गत मंसिर १ गते सुरु भएको एनपीएलमा यो वर्षपनि केही रोचक प्रशंगहरु बनेका छन्।  

शाहबको त्यो बल्लिङ

काठमाडौं गुर्खाजका बलर शाहब आलमका लागि एनपीएलको यो संस्करण सुखद् नै रह्यो। लिग चरण अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध घातक बल्लिङ गर्दै एनपीएल सिजन-२ मा बनेको पहिलो ह्याट्रिकमा आफ्नो नाम लेखाए।  

पोखाविरुद्ध एक्लै ६ विकेट लिएका शाहबको उत्कृष्ट बल्लिङले काठमाडौं एनपिएलमा पहिलो पटक प्लेअफमा स्थान बनाउन सफल भयो। यति मात्र नभई उनी एनपीएलको सिजन-२ मा ६ विकेट लिने एकमात्र खेलाडी बने।  

विराटनगरको हारमा रन्जित नायक  

एनपीएल सिजन-२ मा चर्चामा रहने खेलाडीमध्येका एक हुन् चितवन राइनोजका रन्जित कुमार। लिगचरणका सुरुवाती खेलमा एकतर्फी नतिजा निकालिरहेको विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लगाउन रन्जितको भूमिका महत्वपूर्ण रह्यो।  

उनले विराटनगरका ५ विकेट लिँदै जित चितवनको पोल्टामा पारिदिए। ४ ओभर बलिङ गरेका उनले जम्मा २१ रन खर्चिएर शानदार ५ विकेट झारे। जित्नैपर्ने खेलमा विराटनगरको ब्याटिङ लाइनलाई ध्वस्त पार्न उनी सफल रहे। उनको सनसनी पुर्ण बल्लिङको तारिफ विराटनगरका खेलाडीहरुले समेत गरेका थिए।  

कुशल भुर्तेलको त्यो छक्का

एनपीएलमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा नै फुट्यो। विराटनगरले दिएको कीर्तिमानी रनको लक्ष्य पछाइरेको पोखराका कुशलको त्यो ब्याटिङले क्रिकेटप्रेमीको ध्यान खिच्यो। उनको प्रहारपछि अम्पायरले बल नै परिवर्तन गरेका थिए भने कमेन्टेटरहरुले अर्को खेलमा हेलमेट नै लगाएर कमेन्ट्री गरेका थिए।  

गुमनाम कर्णाली

कर्णाली याक्स एनपिएलको चर्चित टोली हो। एनपीएललाई ब्रान्ड बनाउन महत्वपूर्ण मानिएको टोलीमा पर्छ, कर्णाली। तर एनपीएलको दोस्रो संस्करणमा कर्णालीको चर्चा उति सुनिएन। प्लेअफसम्म नपुगेको कर्णालीले सातमध्ये २ खेलमा मात्रै जित निकाल्न सक्यो। ८ टोली सहभागी प्रतियोगितामा सोमपाल कामीको कर्णाली पुछारबाट तेस्रो स्थानमा रह्यो।  

यो पटक कर्णालीले न राम्रो खेल्यो, न त राम्रो चर्चा नै पाउन सक्यो। गतवर्ष भारतका शिखर धवनलाई भित्र्याएर सनसनी मच्चाएको कर्णाली यो संस्करणमा भने गुमनाम जस्तै बन्यो। 

प्रकाशित: २८ मंसिर २०८२ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App