२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

एनपिएल: कर्णाली सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली

डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दा आइतबार नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको यो प्रतिस्पर्धालाई खासै रोमाञ्चक रूपमा हेरिएको थिएन।

किनकि लिगको अन्तिम खेलमा जनकपुर र कर्णाली याक्स दुवै पुछारका टोली थिए भने नतिजाले पनि आगामी यात्रामा कुनै अर्थ राख्दैनथ्यो। गत शुक्रबार नै प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागिसकेको थियो। साथै पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने प्रतिस्पर्धी पनि तय थिए। त्यसैले डिफेन्डिङ च्याम्पियन जनकपुर र कर्णाली भिड्दा समर्थकले पनि त्यसलाई रोमाञ्चकतापूर्वक लिएका थिएनन् तर कीर्तिपुरमा आइतबारको नतिजा भने फरक रह्यो।  खेल अन्तिमसम्म प्रतिस्पर्धात्मक बन्यो। रन कमै बने पनि बलिङबाट खेलले रोमाञ्चकता पायो। लिगको अन्तिम खेलमा ब्याटरले निकै संघर्ष गर्नुपर्‍यो भने स्पिनरका लागि पिचले साथ दियो।

कर्णाली दोस्रो सिजनकै सबैभन्दा कम लक्ष्य रक्षा गर्ने टोली बन्यो। यससँगै डिफेन्डिङ च्याम्पियनले यस सिजनको छैटौं हार सामना गर्नुपर्‍यो। पुछारमा को रहने भन्ने भिडन्तमा कर्णाली सफल भयो। घरेलु स्टार र विदेशी खेलाडी पनि चल्न नसक्दा जनकपुर यो नतिजा सामना गर्न बाध्य भएको हो। पहिलो संस्करण जनकपुरलाई उपाधि दिलाउन स्पिनर ललित राजवंशी, अनिल साह, आसिफ शेख, किशोर महतो र विदेशी खेलाडी लाहिरु मिलन्था र जिमी निसामको प्रदर्शन महत्त्वपूर्ण रह्यो। यसपल्ट भने यी घरेलु खेलाडी चल्नै सकेनन्। १/२ वटा खेलमा बाहेक घरेलु खेलाडी पूर्ण असफल रहे।

निसाम यसपल्ट पोखरा एभेन्जर्स पुगे भने मिलन्थाले पनि प्रभाव जमाउन सकेनन्। अन्य विदेशी खेलाडीको पनि राम्रो साथ पाउन नसक्दा जनकपुरका लागि दोस्रो सिजन खराब रह्यो। जनकपुरका सहायक प्रशिक्षक मनोज कटुवालले पनि च्याम्पियन बनाउन भूमिका खेलेका खेलाडी चल्न नसक्दा यो सिजन खराब रहेको उल्लेख गरे। ‘पहिलो संस्करण च्याम्पियन बनाउन भूमिका खेलेका खेलाडीले यसपल्ट राम्रो खेल्न सकेनन् । १/२ खेलमा राम्रो गरे तर उनीहरूको लय जारी रहेन। विदेशी खेलाडीको पनि राम्रो साथ पाउन सकेनौं,’ प्रशिक्षक कटुवालले भने, ‘वायन पर्नेल र माज सदाकत अली चाँडै आएको भए सिजन फरक रहन्थ्यो।’

जनकपुरले दक्षिण अफ्रिकाका इमरान ताहिरलाई ल्याउने घोषणा गरेको थियो तर त्यो घोषणामा नै सीमित बन्यो। यद्यपि, प्रशिक्षक कटुवालले दुबईमा भएको टी ट्वान्टी लिग सकिएपछि मात्र आउने भनेकाले नल्याइएको दाबी गरे। कोचिङ स्टाफ र कप्तानमा परिवर्तन गरिरहे पनि जनकपुरको नतिजामा भने सुधार आउन सकेन। त्यसैले पनि डिफेन्डिङ च्याम्पियन लिगको पुछारमा रहेर सिजन अन्त्य गर्न बाध्य भयो।

गत संस्करण प्लेअफमा पुगेको कर्णालीका लागि पनि यो सिजन खराब रह्यो। गत सिजन कर्णालीको सफलताका नायक बनेका विलियम बोसिस्टा, नन्दन यादव, सोमपाल कामी, गुलसन झा र युवा स्पिनर विपिन शर्माको प्रदर्शन राम्रो रहेन। गुलसनका लागि भने १/२ खेल राम्रो नै रह्यो।

उनको लय पनि नियमित भएन तर कप्तान सोमपाल आफ्ना खेलाडीको प्रदर्शनबाट खुसी नै छन्। सबैले आफ्नो शतप्रतिशत दिएको उनको विश्वास छ। पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्सविरुद्ध राम्रो स्थितिमा खेल गुमाउनुले मुमेन्ट बिग्रिएको उनको भनाइ छ । तर, लिगको अन्तिम खेलमा जित निकाल्नुले कर्णालीका लागि थोरै भए पनि सुखद पक्ष रह्यो।

कर्णालीको साँघुरो जित

कर्णालीले आइतबार डिफेन्डिङ जनकपुरमाथि तीन रनको साँघुरो जित निकाल्दै दोस्रो सिजन पूरा गर्‍यो। यो सिजनकै सबैभन्दा साँघुरो विजय पनि बन्यो। त्रिवि क्रिकेट मैदानमा कर्णालीले एक सय ३० रनको सामान्य लक्ष्य दिएको थियो। तर, जनकपुरले लक्ष्य भेट्टाउन सकेन। पूरै ओभरमा सात विकेट गुमाउँदै जनकपुरले एक सय २६ रन मात्र जोड्न सक्यो। साथै कर्णाली यस सिजनमा सबैभन्दा कम लक्ष्य जोगाउने टोली पनि बन्यो।

पहिलो सिजन प्लेअफमा पुगेको कर्णालीका लागि पनि यसपल्ट सुखद रहेन। कर्णालीले सात खेलमा दोस्रो जित निकाल्यो र लिगको छैटौं स्थानमा रहेर दोस्रो सिजन पूरा गर्‍यो। जनकपुर भने समान खेलमा एक जितसहित पुछारमा रह्यो। जनकपुरले एक मात्र विजय चितवन राइनोजविरुद्ध थियो। लिगको अन्तिम खेलमा उत्कृष्ट बलिङ गरे पनि ब्याटिङ चल्न नसक्दा जनकपुर असफल भयो।

जनकपुरको शीर्ष चार ब्याटर सस्तैमा आउट भए। ओपनरद्वय माज सदाकत १२ रन र आसिफ शेख शून्यमा नै पभेलियन फर्किए। त्यसपछि अनिल साहले पनि खाता खोल्न सकेनन्। मायन यादव पनि ९ रनमा आउट भए। ६.६ ओभरमा जनकपुर २९/४ को नाजुक अवस्थामा पुग्यो । तर, पाँचौं विकेटका लागि संगिथ कुरे र सञ्जय कृष्णमूर्तिबीच ७५ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। सञ्जय २९ बलमा ५१ रन जोडेर आउट भए। उनको इनिङमा एक चौका र चार छक्का रह्यो। कुरे पनि ३२ बलमा २५ रन जोड्दै आउट भए। त्यसपछि निकोलस लफ्टीले १३ रन जोडे पनि पर्याप्त भएन। विलियम बोसिस्टोले दुई तथा मार्क वाट, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले समान एक विकेट दिलाए।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले कमजोर प्रदर्शन गर्‍यो। पूरै ओभर खेलेको कर्णालीले ९ विकेटको क्षतिमा एक सय २९ रनको सामान्य योगफल बनायो। ओपनर इमरान शेखको ३३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। उनले ३२ बलमा समान एक चौका र छक्का प्रहार गरे। विदेशी खेलाडीले पनि राम्रो खेल्न नसक्दा कर्णालीको इनिङ कमजोर बन्यो। यस एनपिएलमा शतक पूरा गरेका ओपनर मार्क वाट ४ रनमै पभेलियन फर्किए। राम्रो साझेदारी नबन्दै कर्णालीले लगातार विकेट गुमायो र सुस्त ब्याटिङ गर्‍यो। प्रियान्क पन्चाल १६, गुलसन झा १९, विलियम बोसिस्टो १५ र नाजिबउल्लाह जादरान १३ रनमा नै आउट भए।

कर्णालीले १६.३ ओभरमा एक सय रनको आँकडा पार गर्‍यो। अन्तिम तीन ओभरमा पनि कर्णालीले सुस्त ब्याटिङ गर्‍यो। कर्णालीले अन्तिम पाँच ओभरमा पाँच ब्याटर गुमाउन पुग्यो। यस सिजन पहिलोपल्ट अवसर पाएका इमरानले धैर्यपूर्वक ब्याटिङ गरे। पुछारमा आएका कप्तान सोमपाल कामी १८ रनमा नटआउट रहे। उनले ११ बलमा समान एक चौका र छक्का हिर्काए । जनकपुरले आठ बलर प्रयोग गर्‍यो। तीमध्ये ललित राजवंशी र आदित्य महताले समान दुई विकेट दिलाए। संगिथ, अनिल साह र सदाकतले समान एक विकेट निकाले।

प्रकाशित: २२ मंसिर २०८२ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App