नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको रौनक बढ्दै जाँदा प्रतियोगितामा सहभागी आठवटै टोलीले आफ्ना मुख्य प्रशिक्षकको टुङ्गो लगाएका छन्।
मंसिरको अन्तिम सातासम्म चल्ने यस प्रतियोगिताका लागि फ्रेन्चाइज टोलीहरूले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त दिग्गजदेखि नेपाली क्रिकेटलाई नजिकबाट बुझेका अनुभवी प्रशिक्षकहरूलाई आफ्नो रणनीतिक नेतृत्व सुम्पिएका छन्।
सोमबार विराटनगर किंग्सले नेपाली क्रिकेटका पूर्वप्रशिक्षक पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेसँगै एनपीएलका सबै आठ टोलीको प्रशिक्षक ‘लाइनअप’ पूर्ण भएको हो।
पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई अझै भव्य, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने होडमा रहेका टोलीहरूले प्रशिक्षक छनोटमा विशेष ध्यान दिएका छन्।
कतिपय टोलीले गत सिजनकै प्रशिक्षकलाई निरन्तरता दिएका छन् भने अधिकांशले नयाँ रणनीतिकार भित्र्याएर उपाधि जित्ने बलियो दाबेदारी प्रस्तुत गर्ने संकेत गरेका छन्।
यसैगरि, खेलाडी अनुबन्धन, ट्यालेन्ट हन्ट र प्रशिक्षणलाई समेत टोलीहरुले थप तीव्र पारेका छन्।
आउनुहोस्, विस्तृतमा हेरौँ कुन टोलीको प्रशिक्षणको बागडोर कसको हातमा छ र उनीहरूको आगमनले टोलीलाई कस्तो प्रभाव पार्न सक्छ।
विराटनगर किंग्स: पुबुदु दसानायके
विराटनगर किंग्सले दोस्रो संस्करणका लागि रणनीतिक र महत्वपूर्ण कदम चाल्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएका पुबुदु दसानायकेलाई मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरेको छ।
दसानायके नेपाली क्रिकेट समर्थक र खेलाडीहरूका लागि अपरिचित नाम होइन। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आइसीसी टी-२० विश्वकप खेलेको थियो। दुई पटक नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षक रहिसकेका उनलाई खेलाडीको क्षमता पहिचान गर्ने र टोलीमा सकारात्मक ऊर्जा भर्ने कुशल प्रशिक्षकका रूपमा चिनिन्छ।
गत सिजनमा उनी साविक विजेता जनकपुर बोल्ट्सको प्रशिक्षक थिए। हाल अमेरिकाको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका दसानायकेको नेतृत्वमा अमेरिकाले हालै सम्पन्न त्रिकोणात्मक शृङ्खलाका सबै खेलमा जित हात पारेको थियो।
नेपाली खेलाडीहरूको मानसिकता र क्षमतासँग राम्रोसँग परिचित दसानायके र मार्की खेलाडी सन्दीप लामिछानेबीचको सहकार्यले विराटनगरलाई यो सिजनमा बलियो दाबेदारको रूपमा प्रस्तुत गर्ने निश्चित छ।
जनकपुर बोल्ट्स: शिवनारायण चन्द्रपाउल
पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सले उपाधि रक्षाको कठिन चुनौतीलाई सामना गर्न वेस्ट इन्डिजका शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।
खेलाडीका रूपमा लामो र सफल करियर बिताएका उनले प्रशिक्षकका रूपमा भने एनपीएलबाटै डेब्यु गर्दैछन्। यसअघि उनले सन् २०२२ मा अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीलाई प्रशिक्षण दिएका थिए।
गत सिजन पुबुदु दसानायकेको मार्गदर्शनमा उपाधि जितेको जनकपुरले यसपटक चन्द्रपाउलको अनुभव र रणनीतिक ज्ञानमाथि विश्वास गरेको छ।
मार्की खेलाडीका रूपमा आक्रामक ब्याट्सम्यान आसिफ शेख रहेको टोलीलाई चन्द्रपाउलको शान्त र रणनीतिक स्वभावले सन्तुलन प्रदान गर्ने अपेक्षा गरिएको छ। उनका लागि सबैभन्दा ठूलो चुनौती गत सिजनको सफलतालाई निरन्तरता दिँदै उपाधि जोगाउनु हुनेछ।
काठमाडौं गुर्खाज: मोन्टी देसाई
राजधानीको टोली काठमाडौं गुर्खाजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान मुख्य प्रशिक्षक मोन्टी देसाईलाई यस सिजनका लागि आफ्नो प्रमुख रणनीतिकार बनाएको छ।
देसाईलाई नेपाली क्रिकेट जगतमा एक सफल र आधुनिक सोचका प्रशिक्षकका रूपमा हेरिन्छ। राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा उनले खेलाडीहरूमा आत्मविश्वास भर्दै आक्रामक क्रिकेट खेल्न प्रेरित गरेका थिए।
गत संस्करणमा वसन्त शाही ठकुरीको प्रशिक्षणमा रहेको काठमाडौं नेट रनरेटमा पछि पर्दै शीर्ष चारमा पुग्न असफल भएको थियो।
यसपटक देसाईको आगमनले टोलीमा नयाँ ऊर्जा र व्यावसायिकता थपिने विश्वास गरिएको छ। वसन्त शाहीले देसाईलाई सहायक प्रशिक्षकका रूपमा सघाउनेछन्।
राष्ट्रिय टोलीका अधिकांश खेलाडीसँग नजिकबाट काम गरिसकेका देसाई एनपीएलका लागि नेपाल आइसकेका छन्। मार्की खेलाडी करण केसीको आक्रामक स्वभाव र देसाईको रणनीतिक कुशाग्रताबीचको तालमेलले काठमाडौंको प्रदर्शनमा निर्णायक भूमिका खेल्नेछ।
चितवन राइनोज: कलाम अली
चितवन राइनोजले यस सिजनका लागि आफ्नै सहायक प्रशिक्षक कलाम अलीलाई मुख्य प्रशिक्षकमा पदोन्नति गरेको छ।
गत संस्करणमा भारतका उमेश पटेल मुख्य प्रशिक्षक रहँदा अलीले सहायकको भूमिका निर्वाह गरेका थिए। टोलीको संरचना र खेलाडीहरूसँग राम्रोसँग परिचित भएकाले अलीलाई यो जिम्मेवारी दिइएको हो।
गत सिजनमा चितवन शीर्ष चारमा पुग्न सफल भए पनि इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित हुँदै बाहिरिएको थियो।
गत वर्षको अनुभवलाई सदुपयोग गर्दै टोलीको कमी-कमजोरी सुधार्नु अलीको मुख्य लक्ष्य हुनेछ। उनले टोलीलाई नजिकबाट नियालेका छन्। मार्की खेलाडीका रूपमा ब्याट्सम्यान कुशल मल्ल रहेको चितवनले अलीको नेतृत्वमा गत सिजनभन्दा एक कदम अगाडि बढ्दै फाइनलसम्मको यात्रा तय गर्ने लक्ष्य राखेको छ।
पोखरा एभेन्जर्स: राजीव कुमार
पोखरा एभेन्जर्सले गत सिजनका आफ्ना मुख्य प्रशिक्षक भारतका राजीव कुमारलाई नै यस संस्करणमा पनि निरन्तरता दिने निर्णय गरेको छ।
पहिलो संस्करण पोखराका लागि सुखद रहन र टोलीले सोचेअनुरूप प्रदर्शन गर्न सकेको थिएन। यद्यपि, फ्रेन्चाइजले राजीवको अनुभव र क्षमतामाथि विश्वास कायम राखेको छ।
राजीव कुमार इन्डियन प्रिमियर लिग (आइपीएल) को सफल टोली चेन्नई सुपर किंग्सको प्रशिक्षण टिममा समेत आबद्ध थिए।
गत वर्षकै टोलीको नेतृत्व गरेकाले उनी खेलाडीहरूको क्षमता र कमजोरीसँग पूर्ण रूपमा परिचित छन्। यही अनुभवलाई प्रयोग गरेर टोलीको प्रदर्शनमा सुधार ल्याउनु उनको प्रमुख जिम्मेवारी हुनेछ।
मार्की खेलाडी कुशल भुर्तेलको नेतृत्वमा रहेको ब्याटिङ लाइनअपलाई सही दिशा दिनु र टोलीलाई एकताबद्ध बनाएर अघि बढाउनु राजीवका लागि मुख्य चुनौती हुनेछ।
लुम्बिनी लायन्स: टिनु योहान्नान
गत सिजनमा खासै प्रभाव जमाउन नसकेको लुम्बिनी लायन्सले यसपटक भारतका पूर्व तीव्र गतिका बलर टिनु योहान्नानलाई मुख्य प्रशिक्षकको रूपमा भित्र्याएको छ।
पहिलो संस्करणमा नन्दन फडानिसको प्रशिक्षणमा रहेको लुम्बिनीले यसपटक बलिङ पक्षलाई सुदृढ गर्ने संकेतसहित योहान्नानलाई रोजेको हो।
योहान्नानले भारतका लागि तीन टेस्ट र तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। जसमा उनले दुवै फर्म्याटमा समान ५-५ विकेट लिएका छन्।
खेलाडी जीवनपछि उनी प्रशिक्षणमा सक्रिय छन् र उनको अनुभवले लुम्बिनीका युवा खेलाडीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले योहान्नानको मार्गदर्शनमा यस सिजनमा उत्कृष्ट पुनरागमन गर्ने लक्ष्य लिएको छ।
कर्णाली याक्स: ज्ञानेन्द्र मल्ल
नेपाली राष्ट्रिय टोलीका सफल ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले यस सिजनमा पनि कर्णाली याक्सको मुख्य प्रशिक्षकको भूमिकालाई निरन्तरता दिनेछन्।
गत सिजनमा कर्णाली सबैभन्दा चर्चित टोलीहरूमध्ये एक थियो र मल्लको प्रशिक्षणमा टोलीले शीर्ष चारमा स्थान बनाउँदै प्लेअफसम्मको यात्रा तय गरेको थियो। यद्यपि, फाइनल पुग्न भने असफल रह्यो।
खेलाडी र प्रशिक्षक दुवै भूमिकामा सफल देखिएका मल्ललाई एनपीएलको एक सफल प्रशिक्षकका रूपमा लिइन्छ। गत वर्षको अनुभवबाट सिक्दै र पुराना गल्तीहरूलाई सच्याउँदै टोलीलाई फाइनलसम्म पुर्याउनु उनको मुख्य उद्देश्य हुनेछ।
उनी टोलीका खेलाडीहरूसँग राम्रोसँग घुलमिल भइसकेका छन्। मार्की खेलाडीका रूपमा अनुभवी अलराउन्डर सोमपाल कामी रहनुले टोलीको सन्तुलनलाई अझ बलियो बनाएको छ।
सुदूरपश्चिम रोयल्स: जगत टमाटा
पहिलो संस्करणमा सनसनीपूर्ण प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेको सुदूरपश्चिम रोयल्स उपविजेतामा सीमित भएको थियो।
यसपटक उपाधि जित्ने लक्ष्यसहित टोलीले नेपाली क्रिकेटका सबैभन्दा चर्चित र सफल प्रशिक्षक जगत टमाटालाई नै मुख्य प्रशिक्षकको रूपमा निरन्तरता दिएको छ।
टमाटाले लामो समय नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए र घरेलु क्रिकेटको संरचनालाई गहिरोसँग बुझ्दछन्।
गत सिजनमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भए पनि सुदूरपश्चिमले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको थियो। टमाटाको प्रशिक्षणमा रहेको टोली रणनीतिक रूपमा बलियो मानिन्छ।
मार्की खेलाडीका रूपमा नेपालका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहनु नै टोलीको सबैभन्दा ठूलो शक्ति हो।
टमाटा र ऐरीको सहकार्यमा सुदूरपश्चिम यसपटक उपाधिको प्रमुख दाबेदारको रूपमा मैदान उत्रनेछन्।
प्रकाशित: २४ कार्तिक २०८२ १५:५३ सोमबार





